मकवानपुरे सुवेदीको कृति ‘बहुरुपी’ मदन पुरस्कार–२०८१ को सूचीमा
हेटौंडा-मदन पुरस्कार गुठीले प्रत्येक वर्ष प्रदान गर्ने ‘मदन पुरस्कार–२०८१’ को छनोट कृतिहरुमा ‘बहुरुपी’ समाबेस भएको छ । मकवानपुरका साहित्यकार श्रेयज सुवेदीको पुस्तक ‘बहुरुपी’ कथाकृति मदन पुरस्कार गुठीको शीर्ष ७ मा पर्न सफल भएको हो । यो उनकोे पहिलो प्रकाशित कथाकृति हो । उनले आफ्नो कथाकृतिमा चालक, अपरम्परा, शैलुनको सिसा, बगर, इन्द्रेणी, छाला नामक ६ खण्डमा विभाजित गरेर १५ वटा कथा लेखेका छन् । उनले आफ्नो कृतिमा मधेशको परिवेशमा कथा बुन्ने प्रयास गरेका छन् । मधेशको सामाजिक, सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक आयामलाई सशक्त कथावाचन शैलीमार्फत् जीवन्तरुपले चित्रण गरेका छन् ।
साहित्यकार सुवेदीले आफ्नो पहिलो कथाकृति शीर्ष ७ मा छनोटमा परेकोमा खुशी व्यक्त गरे । यो मेरो उपलब्धि हो । नेपालको साहित्यक्षेत्रमा सबैभन्दा प्रतिष्ठित ‘मदन पुरस्कार’ को श्रेष्ठ सूचिमा ‘बहुरुपी’ पर्न सफल भएको छ । जित्नुको बेग्लै आनन्द होला । आफ्ना लागि पुरस्कार यही रहेको उनले बताए । मदन पुरस्कार गुठीले वर्षभरि प्रकाशित भएका साहित्यिक कृतिहरुबाट छनोट गरेर एक कृतिलाई ‘मदन पुरस्कार’ दिने गर्दछ । मदन पुरस्कार गुठीले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै गुठीलाई कूल २ सय ९९ पुस्तक प्राप्त भएका त्यसमध्येबाट शीर्ष ७ कृति छनोट गरिएको जनाएको हो ।
जसमध्ये साहित्यकारहरु छुदेन काविमोको कृति उरमाल, रमेश भुषालको कृति छालबाटोः कैलाशदेखि ग·ासम्म, कुमारी लामाको कृति दज्र्यु संलाप, मनप्रसाद सुब्बाको कृति पञ्चतत्वको पालाम, श्रेयज सुवेदीको कृति बहुरुपी, सुधीर शर्माको कृति भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत) र तीर्थ गुरुङको कृति हिउँको गीत शीर्ष ७ मा परेको जनाएको छ । गठीले छनोट भएको शीर्ष ७ कृतिहरुबाट एक कृति छनोट गरी मदन पुरस्कार–२०८१ बाट सम्मान गर्ने जनाएको छ ।
वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले वि.सं. २०१३ मा पहिलोपटक गद्य, सामाजिक शास्त्र र विज्ञान विधामा तीन कृति—‘हाम्रो लोकसंस्कृति’ (सत्यमोहन जोशी), ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ (चित्तरञ्जन नेपाली) तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ (बलराम जोशी) लाई पुरस्कृत गर्दै पुरस्कार वितरण आरम्भ गरेको थियो । मदन पुरस्कार गुठीले २०७२ देखि गुठीमा प्राप्त पुस्तक मध्येबाट बढीमा १० वटा पुस्तक छनोट गरी सूची सार्वजनिक गर्ने गरेको छ । २०७५ सालबाट पुरस्कार राशी चार लाख रुपैयाँ पु¥याइएको छ ।







