किसानको धानबालीको बीमा गर्दै मनहरी गाउँपालिका

साझाकुरा
२०८२ श्रावण ९, बिहीबार ११:५८

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाले किसानको बालीबीमा गर्न सुरुवात गरेको छ । बुधबार मनहरी–७ बाट बालीबीमा कार्यक्रम सुरु गरिएको हो ।मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीमगरलगायतको उपस्थितिमा बुधबार महनरी–७ का सेतेलाल जिम्बाको १९ कठ्ठा खेतमा लगाइएको धानबालीको बीमा गरी कार्यक्रम सुरु गरिएको हो । अहिले धानबालीको सिजन भएकाले धानबालीको बीमा सुरु गरिएको र सिजनअनुसारका सबै अन्नबाली र तरकारी बालीको बीमा गरिनेगाउँपालिका अध्यक्ष कालाखेतीले बताए ।

अन्नबालीमा कीरा तथा अन्य रोगको प्रकोपलगायत कारण अन्नउत्पादन नहुने भएकोले किसान मर्कामा परिरहेका थिए । अन्नउत्पादन नभएका कारण किसानलाई हुने हानीनोक्सानीको क्षतिपूर्ति भराउने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक वर्षबाट बालीबीमा सुरु गरेको कालाखेतीले जानकारी दिए । बालीबीमाका लागि गाउँपालिकाले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरी बालीबीमा थालनी गरिएको हो । धानबाली बीमा गर्न इच्छुक किसानलाई निवेदन दिन गाउँपालिकाले एकसाताअघि सूचना जारी गरेको थियो ।

सबै वडा कार्यालयमार्फत् बालीबीमा गरिने गाउँपालिकाले जनाएको छ । बालीबीमा गर्दा कुलबीमांक रकमको ८० प्रतिशत रकम गाउँपालिकामार्फत् संघीय सरकारले अनुदान दिने व्यवस्था छ भने २० प्रतिशत रकम किसान आफैँले बेहोर्नुपर्ने प्राबधान छ । बालीबीमाको २० प्रतिशत बीमांक रकम तिर्न नसक्ने विपन्न किसानको बीमा शुल्क भुक्तानी गाउँपालिकाले गरिदिने गरी बजेट छुट्याइएको अध्यक्ष कालाखेतीले बताए ।

बालीबीमा सुरु भएसँगै अब अन्नबालीमा रोगकीराको प्रकोप साथै वन्यजन्तुबाट गर्ने क्षतिबापत किसानले क्षतिपूर्ति पाउने भएकाले किसानले राहत अनुभूति गर्ने गाउँपालिका उपाध्यक्ष पुलामीले विश्वास व्यक्त गरिन् । आगामी दिनमा अन्य अन्नबाली र तरकारी बीमाको कार्यक्रमलाई पनि अघि बढाइने उनले बताइन् । यो निर्जीवन बीमाअन्तर्गत पर्दछ । नेपालमा २०६९ साल माघ १ गतेदेखि औपचारिकरुपमा बालीबीमा सुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*