लेखा समिति गुहार्दै हेटौंडा सिमेन्टका कर्मचारी

साझाकुरा
२०८२ श्रावण ९, बिहीबार १२:००

हेटौंडा- थप्प अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योग पुनःसञ्चालनको माग गर्दै उद्योगका कर्मचारीले संघीय संसद्को लेखासमिति अध्यक्ष ऋषिकेश पोखरेललाई भेटेका छन् । सबै ट्रेड युनियनको संयुक्त पहलमा समितिलाई बुझाइएको ज्ञापनपत्रमा सरकारी स्वामित्वको यो उद्योगलाई पुनः पूर्णक्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरिएको छ । कर्मचारीले उद्योग बन्द हुँदा रोजगार गुमाउनु परेको र राज्यको ठूलो लगानी खेरगइरहेको भन्दै तत्काल उचित कदम चाल्न माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउने क्रममा कर्मचारीले लामो समयदेखि उद्योग बन्द हुँदा आफूहरु मानसिक, आर्थिक र सामाजिक समस्यामा परेको गुनासो गरेका थिए । उनीहरुले सार्वजनिक उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व भएको भन्दै हेटौंडा सिमेन्ट उद्योगलाई आवश्यक स्रोत साधन जुटाएर पुनःसञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याएका छन् । उद्योग सञ्चालनमा नआउँदा राज्यलाई आउने राजस्व गुमेको र राष्ट्रिय उत्पादन क्षमतामा असर परेको तर्क प्रस्तुत गरिएको छ ।

लेखासमिति अध्यक्ष पोखरेलले ज्ञापनपत्र प्राप्त गरेपछि समितिको तर्फबाट आवश्यक अध्ययन, छलफल र समन्वय हुने प्रतिबद्धता जनाए । पछिल्लो समय सरकारले विभिन्न सरकारी उद्योग निजीकरण गर्न खोजिरहेकोप्रति कर्मचारीहरु असन्तुष्ट देखिएका छन् । सार्वजनिक सम्पत्ति संरक्षण गर्नुको सट्टा निजीक्षेत्रलाई हस्तान्तरण गर्ने प्रवृत्तिले दीर्घकालमा राष्ट्रको औद्योगिक भविष्य कमजोर हुने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*