बागमती सरकारले कृषकलाई बिनाधितो २५ लाख रुपैयाँसम्म ऋण दिने
हेटौंडा- बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस आर्थिक बर्ष २०८२÷८३ मा कृषकको व्यावसायिक बिकास र प्रवद्र्धन गर्ने उदेश्यले व्यावसायिक कृषकलक्षित कार्यक्रम ल्याएको छ ।जसअन्तर्गत प्रदेशका ६ लाख कृषकमध्ये ३ लाख सूचिकृत कृषकले धितोमा ५ लाखदेखि १ करोडसम्म ६ प्रतिशत ब्याजमा सहुलियत ऋण पाउन सक्नेछन् । यसैगरी कर्जा तथा निक्षेप सुरक्षण कोषको साझेदारीमा बिनाधितो १ लाखदेखि २५ लाख रुपैयाँसम्म ऋण पाउने बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले बताए । यो कार्यक्रमले विदेश पलायन हुने युवालाई स्वदेशमै व्यावसायिक कृषि गर्न उत्प्रेरित गर्नुका साथै उनीहरुको क्षमताको विकास र पुँजी लगानीको स्रोत व्यवस्थापनको लागि महत्वपूर्ण हुने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठका अनुसार बागमती प्रदेशभित्र कृषिउपजलाई प्रांगारिक मलको प्रयोगबाट व्यवस्थितरुपमा उत्पादन तथा बजारीकरण गर्नुका साथै उपभोक्तासम्म पु¥याउने उद्देश्यले बहुवर्षीय योजनाअन्तर्गत दामन, नुवाकोट, मकवानपुर गढीको सामरीक्षेत्र, धादिङको धुनिबेशी र काठमाडौंको दक्षिणकालीमा स्मार्ट फार्म संचालन गर्न बजेट व्यवस्थापन गरिएको छ । मन्त्रालयले यसै आर्थिक वर्षमा कृषि ज्ञानरत्न नवप्रवद्र्धन कार्यक्रमअन्तर्गत ब्याचलर, स्नातोकर, एमफिल वा पिएचडीको तयारी गरिरहेका युवाको लागि क्रमश ८ लाख, १० लाख र २२ लाख रुपैयाँ बजेटको व्यवस्था गरी कार्यक्रममा आबद्ध हुन आव्हान गर्ने तयारी गरेको छ ।
बागमती प्रदेशका १३ जिल्लामा कुन जिल्लामा के बालीको सम्भावना छ ? अध्ययन गरी बिशेष रैथाने बाली घोषणा गरी उत्पादन तथा प्रवद्र्धन गर्ने तयारीका साथ बजेट व्यवस्थापन गरिएको मन्त्री श्रेष्ठले बताए । यसै आर्थिक वर्षमा प्रदेश सरकारले किबी, गोलभेडा, सागबाट गुन्द्रुक जस्ता प्रशोधन उद्योग संचालन गर्ने लक्ष्य लिइएको छ भने एक पालिका एक प्रबिधिमैत्री सूचना संचारमा आधारित कृषिबजार केन्द्र स्थापना गर्ने भनेर नौ पालिका छनोट गरिएको छ । जसमा प्याकेजको रुपमा कृषि एम्बुलेन्स, बिषादि प्रयोगशाला ल्याब, कोल च्याम्बर र तीनदेखि पाँच कृषि संकलन तथा बितरण केन्द्र निर्माण गर्ने लक्ष्य रहेको छ ।
जसबाट पालिकाले किसानले उत्पादन गरेका बस्तु संकलन र बितरण गर्नेछन् भने सोही उत्पादनको आधारमा कृषिअनुदान दिने नीति लिइएको बताइएको छ । समग्ररुपमा प्रदेशभित्रका जग्गा बाँझो नरहोस्, माटो र भूगोल अनुसारको उत्पादन गर्ने र त्यसमा प्रांगारिक मल, जैविक मल, गड्यौला मल प्रयोग गरी रासायनिक मललाई कम गर्दै जाने लक्ष लिइएको मन्त्री श्रेष्ठले बताए । यस आर्थिक वर्षमा ब्यावसायिकरुपमा कृषि संचालन गरिरहेका कृषक लक्षित कार्यक्रम धेरै भएकाले धेरै भन्दा धेरै कृषकले सरकारको अनुभूति हुनेगरी लाभ लिन सक्ने उनको भनाई छ ।







