बागमती प्रदेश सिटिइभिटीमा ६ सदस्य नियुक्त

साझाकुरा
२०८२ श्रावण १०, शुक्रबार १३:१९

हेटौंडा- बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (प्रदेश सिटिइभिटी) मा ६ जना सदस्य नियुक्त गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सदस्यहरु नियुक्ति गरिएको हो ।परिषद्को सदस्यमा धादिङ धुनिबेशी नगरपालिका–५ का नवराज धिताल, चितवनको खैरहनी नगरपालिका–१२ का नन्दकिशोर चौधरी, मकवानपुरको हेटौंडा–६ का उज्ज्वल चौलागाई, सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ की सीतामाया स्याङ्तान, काठमाडौं–१६ की हसना महर्जन र काठमाडौं–२८ का माधवदेव पन्त रहेका छन् । नियुक्त भएका ६ सदस्यलाई बिहीबार सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले सपथग्रहण गराएकी छन् ।

‘प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् ऐन, २०७४’ अनुसार गठित परिषदमा सामाजिक विकासमन्त्री अध्यक्ष रहने तथा एक कार्यकारी निर्देशक रहने व्यवस्था छ ।ऐनको दफा ३ को उपदफा (२) खण्ड (ठ) बमोजिम प्रदेशस्तरीय ट्रेड युनियन समन्वय समितिबाट एकजना सदस्य मनोनयन हुन बाँकी छ । परिषद्मा नीति तथा योजना आयोग, मन्त्रालयका सचिवहरु, प्राविधिक तालिमविज्ञ, उद्योग क्षेत्रका प्रतिनिधि र ट्रेड युनियन समन्वय समितिका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । यसपटक नियुक्त भएका ६ जना सदस्य विज्ञता र प्रतिनिधित्वका आधारमा छनोट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद् (प्रदेश सिटिइभिटी)ले प्रदेशमा योजनाबद्ध रुपमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको व्यवस्था गरी प्राविधिक जनशक्ति उत्पादन तथा प्राविधिक सीपको स्तरनिर्धारण तथा प्रमाणीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*