भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुने

साझाकुरा
२०८२ श्रावण ११, शनिबार ११:३९

हेटौंडा-बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलले चीन सरकारको सहयोगमा अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट खडा गर्न लागिएको जानकारी दिए । नेपाल सरकारले बोनम्यारो प्रत्यारोपण चिकित्सा परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर फर एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले चीनबाट आएको टोलीले अस्पतालमा अध्ययन अवलोकन तथा परीक्षण गरेर गएको बताएका छन् ।

सरकारी तहबाटै सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढ्ने भएकाले अर्थ मन्त्रालयमा सम्बन्धित निकायबीच हस्ताक्षर भएको छ । उनका अनुसार नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले चीन सरकारबाट बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्न विनिमयपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान भइसकेको छ । ‘एक वर्षदेखि क्यान्सर अस्पताल भरतपुरमा बोनम्यारो प्रत्यारोपण सेवा निर्माणको युनिट सञ्चालनका लागि तयारी गरिएको थियो, अब कार्यान्वयनतर्फ अघि बढेको छ,’ कार्यकारी निर्देशक डा.पौडेलले भने, ‘मन्त्रीपरिषद्को बैठकले हस्ताक्षर गर्न स्वीकृति दिएपछि अब कामको गतिले तीव्रता पाउने छ ।’

‘क्यान्सर अस्पताल भरतपुरले गर्नुपर्ने सबै काम गरिसकेको छ,’ पौडेलले भने, ‘बोनम्यारो प्रत्यारोपण सेवा जतिसक्दो छिटो दिन हामी आतुर छौँ । अब प्रक्रिया अघि बढेकाले दसैं अगाडि नै सेवा सुरु गर्न सक्ने आशा छ ।’ क्यान्सर अस्पताल भरतपुरले यसअघि नै स्वास्थ्य मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) बुझाइसकेको छ । बोनम्यारो प्रत्यारोपण सेवाका लागि थप भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने उनको भनाई छ ।

प्रमुख जनशक्ति चीनबाट आउने छ । यहाँका जनशक्तिलाई तालिमसमेत चिनियाँ टोलीले दिने डाक्टर पौडेलले बताए । स्थापना गर्नु अगाडि चिनियाँ टोली अस्पताल आएपछि उपकरण खरिद, जनशक्तिलाई तालिमलगायतको विषयमा छलफल हुने छ । विसं २०८१ वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईद्वारा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएको १५ महिनापछि नेपाल सरकारले स्थापना गर्न हस्ताक्षर गरी स्वीकृति प्रदान गरेको हो ।

सम्झौतामा संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि सहायता उपलब्ध गराउने सहमति भएको डा. पौडेलले बताए । नेपालमा काठमाडौंमा बोनम्यारो प्रत्यारोपणको काम भइरहेको भए पनि युनिट नै खडा गरेर प्रत्यारोपणको प्रव्रिmया अघि बढेर सफल भए बोनम्यारो प्रत्यारोपण युनिट खडा गर्ने पहिलो अस्पताल भरतपुरको क्यान्सर अस्पताल बन्ने छ । पहिलो पटक बोनम्यारो प्रत्यारोपण सिभिल अस्पताल काठमाडौँले सुरु गरेको हो ।

आधुनिक प्रविधिबाट भरतपुरमै बोनम्यारो प्रत्यारोपण गर्न थालिएपछि विदेश गएर ठुलो धनराशि खर्च गर्न नपर्ने चिकित्सकको भनाइ छ । बोनम्यारो प्रत्यारोपण गर्न विदेशको तुलनामा नेपालमा सस्तो पर्नेछ । सामान्यतया बोनम्यारो प्रत्यारोपण नेपालमा भए पाँच लाख रुपैयाँ खर्च हुने र विदेश गएर उपचार गराउँदा झन्डै दोब्बर खर्च हुने चिकित्सकले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*