साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गर्छौंः मन्त्री महर्जन
हेटौंडा- बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकलाई वितरण गरिने बताएका छन् ।मन्त्री महर्जनले हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताए । गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वागमती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा ‘नागरिक एप’मार्फत सार्वजनिक गरिएको थियो ।
यो सेवा सुरु भएको तीन महिनामा धेरै सेवाग्राहीले यसबाट लाभ लिइरहेको मन्त्री महर्जनको भनाइ छ । उनले नागरिकले आफ्नो सवारी साधनसम्बन्धी विवरण अनलाइनमार्फत् भरेर यातायात कार्यालयमा भेरिफिकेसन गराउन सक्ने र त्यसपछि पटकपटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको जानकारी दिए ।
‘साउनभित्रै हामीले लाइसेन्स प्रिन्ट गरेर वितरण सुरु गर्छौं, यसबाट सेवाग्राहीलाई फाइदा पुग्नेछ’ मन्त्री महर्जनले बताए, ‘जनताले पटकपटक यातायात कार्यालय जानुपर्ने बाध्यता हटाउने र विचौलिया संस्कृतिको अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’ वागमती प्रदेशबाट सुरु भएको यो डिजिटल सेवा अब क्रमशः अन्य प्रदेशमा पनि विस्तार हुने मन्त्री महर्जनले बताए । उनका अनुसार सातैवटा प्रदेशले आगामी वैशाखदेखि प्रदेशबाट लाइसेन्स छाप्ने तयारीगरिरहेका छन् । जसको सुरुवात वागमती प्रदेशले गर्न लागेको हो ।







