लागुऔषधसहित चार भारतीय पक्राउ
हेटौँडा-मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित भारतीय नागरिकहरू पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट ६ हजार ४ सय ४३ एम्पुल लागुऔषधसहित चार जना भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएकाहरुमध्ये २४ वर्र्षीय शेख गजुर उक्त गाडीको चालक हुन् ।
भारतको सुगौलीबाट पर्साको वीरगन्जहुँदै काठमाडौं आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको गाडी चेकजाँचका क्रममा गाडीको तीन वटा ढोकामा फल्स बटम बनाएर राखिएको लागुऔषध भेटिएको थियो ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । बरामद लागूऔषधमा नोफिन २ हजार ४ सय वटा, डाइजेपाम २ हजार ४ वटा, प्रोमेथाइजन हाइड्रोक्लोराइड २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल ५ वटा छ ।नियन्त्रणमा लिएकाहरुलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।







