दुई हजार पाँच सय २४ किलो माछा उत्पादन

साझाकुरा
२०८२ श्रावण २०, सोमबार ११:२५

हेटौंडा- मकवानपुरको कुलेखानीमा रहेको मत्स्य विकास केन्द्रले आर्थिक वर्ष २०८१÷८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेको छ ।कार्यालयप्रमुख मनिता पौडेललका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेर बिक्री गरी ६ लाख १७ हजार २१६ रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आव २०८०÷८१ मा यो कार्यालयले दुई हजार ५१८ किलो माछा उत्पादन गरेर ६ लाख १७ हजार ५००राजस्व संकलन गरेको थियो । कार्यालयको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत इन्द्रसरोवर रिजरभ्वायरको जलीय जैविकविविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सिल्भर तथा बिगहेड माछाको सात लाख ३० हजार भुरा छोडिएको प्रमुख पौडेलले बताइन् ।

मकवानपुरको इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानीयस्तरमा नै खपत हुने गरेको छ । केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, माहुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ । यस्तै माछापालनलाई प्रोत्साहन गर्न यो कार्यालयले विद्यार्थी र कृषकलाई लक्षित गरी मत्स्य घुम्ती शिविर र स्कुल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्र कुलेखानीले माछापालन सम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालय प्रमुख पौडेललका अनुसार कालिका मावि फाखेलमा स्कुल शिक्षा कार्याक्रमअन्तर्गत २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, नेपालमा मत्स्यपालनको अवस्था, पालनको लागि सिफारिस माछाको जातलगायत माछाको पौष्टिक महत्व तथा प्राकृतिक जलाशयको संरक्षण विषयमा प्रशिक्षण दिइएको छ । त्यस्तै सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा माछापालन सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता तथा स्कुल शिक्षा कार्यक्रम सम्पन्न गरिएको प्रमुख पौडेलले बताइन् । कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा मत्स्यपालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा १२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमबाट विद्यार्थीमा मत्स्य क्षेत्रको महत्वपूर्ण ज्ञान र जानकारी वृद्धि हुनुको साथै मत्स्यपालनका विभिन्न पक्ष र माछाको महत्वलाई अझ स्पष्टरुपमा बुझ्न पाएको प्रमुख पौडेलको भनाइ छ । माछापालनलाई प्रोत्साहन गर्ने उद्देश्यले मत्स्य विकास केन्द्र कुलेखानीले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर सञ्चालन गरेको छ । चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषकको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*