बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
हेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ ग्रहण आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् । बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।







