अधिक भारवहनमा नियन्त्रण गर्न सरकारलाई दवाव

साझाकुरा
२०८२ श्रावण २१, मंगलवार १८:३०

हेटौंडा- सडक र पुल संरचनामा क्षति र दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले अधिक भारवहनमा नियन्त्रण गर्न सरकारलाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।महासंघका महासचिव राजेन्द्रविकम बानियाँको नेतृत्वमा गएको टोलीले बागमती प्रदेश राजमार्ग सुरक्षा कार्यालय रामनगर र चितवनका प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुट्टै पत्र बुझाउँदै हाल ट्रकहरुले तोकिएको भन्दा बढी भार बोकेर सञ्चालन गरिरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । पत्रमा स्वदेशी तथा विदेशी ट्रकले कानूनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेका छन्, जसका कारण पुल र सडक संरचना कमजोर बन्नुका साथै दुर्घटनाको जोखिम उच्च बनेको महासंघको निष्कर्ष छ ।

महासचिव बानियाँले रामनगरस्थित तौलपुलमार्फत् नियमितरुपमा चेकजाँच भइरहे पनि अधिकतम एक हजार पाँच सय रुपैयाँ जरिवाना तिरेर नियोजितरुपमा ट्रकहरु बारम्बार ओभरलोड गर्दै आएको बताउँदै, यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न कडाइ गर्नुपर्ने धारणा राखेका छन् । उनले मापदण्डभन्दा बढी भार बोकेका सवारीलाई निर्देशिका २०७४ बमोजिम अनलोड गराई सोही ट्रकलाई यातायात कार्यालयमा चलान गर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

महासंघको भनाइमा हालको ५०० देखि एक हजार पाँचसय रुपैयाँसम्मको जरिवाना प्रभावकारी छैन, जसले गर्दा ट्रक व्यवसायीले नियतवश पटकपटक अत्यधिक भारवहन गरिरहेका छन् । महासंघले केही समयअघि गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीलाई पत्राचार गर्दै यथाशीघ्र कडा नीति कार्यान्वयनको मागसमेत गरेको थियो । महासंघको प्रस्ताव अनुसार यदि अत्यधिक भारवहन गर्ने ट्रकबाट सामान अनिवार्य रुपमा अनलोड गराइ ट्रकलाई यातायात कार्यालयमा चलान गर्ने व्यवस्था लागू गरियो भने यस्ता अनियमितता नियन्त्रणमा आउने विश्वासलिइएको छ ।

चितवनमा सञ्चालनमा रहेका मालवाहक ट्रकमा यस्ता समस्या देखिएको भन्दै महासंघले प्रदेशभित्रका सम्पूर्ण सडकमार्गमा ट्राफिक प्रहरी र प्रशासनसँग विशेष सहकार्यको अपेक्षा राखेको छ । बागमती प्रदेश राजमार्ग सुरक्षाप्रहरी उपरीक्षक अरुण पौडेल र चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले महासंघको माग र सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै समस्या समाधानका लागि आवश्यक कदम चालिने प्रतिबद्धता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*