ऋषेश्वर सरसफाइ महाअभियान अन्तर्गत शिखर क्लबद्वारा सफाई
हेटौंडा- छ्युमी झ्याङछुप क्षेत्र विकास समितिको आह्वानमा ऋृषेश्वर–छ्युमी झ्याङछुप क्षेत्र सरसफाइ महाअभियान संचालनअन्तर्गत शिखर क्लबको अगुवाईमा सरसफाई कार्य सम्पन्न भएको छ । कार्यक्रम साउन महिनाभर प्रत्यक आईतवार र त्यसपछि प्रत्यक शनिबार हुनेछ । शिखर क्लबको सहकार्यमा आइतबार थाहा नगरअन्तर्गतको प्रमुख धार्मिक एवम् पर्यटकीयस्थल ऋषेश्वर–छ्युमी झ्याङछुप क्षेत्रमा सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।
धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्व बोकेको यसक्षेत्रमा स्थानीय सरोकारवाला, युवावर्ग तथा क्लबका सदस्य मिलेर सफाइकार्यलाई सफल बनाएका हुन् । क्लबका अध्यक्ष विश्व अर्यालको नेतृत्वमा दर्जनौं स्वयंसेवकको सक्रिय सहभागिता रहेको अभियानले धार्मिकस्थलको
सरसफाइ र संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने प्रयासस्वरुप अभियान सुरु गरिएको हो । कार्यक्रममा सहभागीले फोहोरमैला संकलन, झाडी हटाउने तथा वरपरको वातावरण व्यवस्थित बनाउने कार्यमा सक्रियरुपमा सहभागिता जनाएका थिए । अभियानको मूल उद्देश्य धार्मिकक्षेत्रको संरक्षण, स्वच्छता प्रवद्र्धन तथा वातावरणप्रति जनचेतना फैलाउनु रहेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले भविष्यमा पनि यस्ता सामाजिक, धार्मिक तथा वातावरणीय सरोकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सार्वजनिकस्थलको स्वच्छता र संरक्षणमा सामुदायिक सहभागिता अपरिहार्य रहेको भन्दै क्लबले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिने सम्पूर्ण सहयोगीलाई हार्दिक धन्यवाद प्रकट गरेको छ । ‘सफा, हरियाली र सचेत समुदाय निर्माण’ अभियान अन्तर्गत यस्ता सकारात्मक प्रयासलाई आगामी दिनमा अझ प्रभावकारीरुपमा अघि बढाउने क्लबका अध्यक्ष अर्यालले बताए ।







