व्यक्तिगत विवरण सच्चाउने ऐनकार्यान्वयन गर्न स्थानीय तहलाई परिपत्र

साझाकुरा
२०८२ श्रावण २१, मंगलवार १८:३३

हेटौंडा-सरकारले केही नेपाल ऐन संशोधनमार्फत् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा भएको संशोधन कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहलाई परिपत्र गरेको छ । प्रशासन कार्यालयले साउन १८ गते मकवानपुरका सबै स्थानीय तहलाई सम्बोधन गर्दै लेखिएको पत्रका भनिएको छ, ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७५ मा भएको संशोधन बमोजिम गर्ने गराउने व्यवस्था हुन संशोधनको प्रति पाना (१) यसैसाथ संलग्न राखी पठाइएको व्यहोरा जानकारीका लागि आदेशानुसार अनुरोध छ ।’ मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले पालिकालाई परिपत्र गरेका हुन् ।

संशोधित ऐन अनुसार कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखत नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाउने व्यवस्था उल्लेख गरिएको छ । सरकारले केही नेपाल ऐन संशोधन मार्फत् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । त्यसका लागि सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।

ऐनको दफा २५ को उपदफा १ मा ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम, थर वा अन्य विवरण ऐन बमोजिम एकपटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिएपछि सच्याउनु परेमा त्यसको लागि सम्बन्धित व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक वर्षभित्र मात्र स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन पाउने व्यवस्था थियो ।

यसको मतलब यसअघि बालबालिकाको मात्रै उमेर, नाम, थर वा अन्य विवरण दर्ता भएको एक वर्षभित्र सच्याउन पाउने व्यवस्था थियो । अब जो सुकैले पनि एकपटक सच्याउन पाउने भएका छन् । विवरण सच्याएको जानकारी भने स्थानीय पञ्जिकारधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराउनुपर्नेछ । यसरी प्राप्त विवरणको आधारमा विभागले सम्बन्धित व्यक्तिको परिचय नम्बर रहेकोमा त्यस्तो व्यक्तिको विवरणमा सच्याउनुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*