स्वास्थ्य मन्त्री थापाको निर्णय : अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत ३ वटा निर्णय
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पदभारग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत ३ वटा महत्वपूर्ण निर्णय गरेका छन् ।बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली विकास गर्ने निर्णय गरेका हुन् । स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले यो प्रणाली विकास गर्ने निर्णय गरेको हो ।
यो प्रणालीले स्वास्थ्यसेवाप्रवाहमा छिटोछरितो हुने विश्वास मन्त्री थापाले गरे । यस्तै स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायमा रहेका सवारीसाधनको व्यवस्थापन तथा समन्वय गर्न ‘जिपिएस’ प्रणाली जडान गर्ने निर्णय गरिएको छ । प्रदेशभर आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्ने पनि गरिएको छ । यी निर्णयहरु डिजिटल स्वास्थ्यक्षेत्र रुपान्तरणको महत्वपूर्ण कदम हुने मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले बताइन् । थापा २०८१ साउन ९ गते स्वास्थ्यमन्त्री नियुक्त भएका थिए भने मंगलबार मात्र गठन भएको ईन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्रीमण्डलमा पुनःस्वास्थ्यमन्त्री नियुक्त भएका हुन् ।







