मन्त्रालयको संख्या बढ्ने अवस्था छैनः मुख्यमन्त्री बानियाँ

सहमतिको पालना भएनः निवर्तमान मुख्यमन्त्री लामा
साझाकुरा
२०८२ श्रावण २२, बुधबार ११:२१

हेटौंडा- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालयको संख्या नबढ्ने बताएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदभारग्रहण पछि सञ्चारकर्मीसँग कुरागर्दै मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या बढ्ने अवस्था नरहेको बताए । संविधान अनुसार २२ वटा मन्त्रालय बनाउन सकिने भएतापनि संविधान संशोधन मार्फत् प्रदेशको मन्त्रालय घटाउनुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले संविधानको व्यवस्थाको प्रयोग गरेर धेरै सांसद् मन्त्री हुँदा प्रदेशको गौरव घटेको पनि जिकिर गरेका छन् । जनताप्रति निष्ठावान र इमानदार भएर वर्तमान सरकारले काम गर्ने उनले दाबी गरेका छन् ।

मुख्यमन्त्री बानियाँले प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । विगतमा बोल्ने मात्र काम धेरै भएकोले अब गर्ने कुरा सुरुहुने उनले बताएका छन् । मुख्यमन्त्री बानियाँले मन्त्रीपरिषद्ले पनि छिट्टै पूर्णता पाउने दाबी गरे । नवनियुक्त मुख्यमन्त्री बानियाँले प्रदेशसभाबाट प्राप्त संकल्प प्रस्तावमा उल्लेखित विषयमा पहिलो निर्णय गरेका छन् । जसमा आर्थिक मितव्ययिता कायम राख्ने, सुशासन कायम राख्ने, सेवाप्रवाहलाई प्रभावकारी बनाउने र बजेट प्रणालीलाई जनमुखी बनाउने विषय रहेका छन् ।

निर्णयअनुसार प्रदेशमा आर्थिक मितव्ययिता र सुशासन कायम गर्ने उद्देश्य रहेको मुख्यमन्त्री बानियाँले बताए । सरकारले अनावश्यक र फजुल खर्च कटौती गर्ने र सरकारी कोषको दुरुपयोग हुन नदिने निर्णय गरेको उनको भनाई छ । सरकारको कामकारबाही पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउने तथा नियम–कानुनको पालना गर्दै जनताप्रति उत्तरदायी भएर शासन सञ्चालन गर्ने सरकारको निष्कर्ष रहेको उनको भनाई छ । सेवाप्रवाहलाई प्रभावकारी बनाउन छिटो, छरितो र सहज बनाउने, जनताले सरकारी सेवा लिनका लागि झन्झट बेहोर्नु नपर्ने र समयमै काम हुने सुनिश्चित गर्ने, बजेट प्रणालीलाई जनमुखी बनाउने निर्णय संकल्प प्रस्तावमा रहेको उनले बताए ।

सरकारले बनाउने वार्षिक बजेट ठुलाबडा वा पहुँचवालाका लागि नभई आमजनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर बनाउने, विकासका योजना र कार्यक्रमले सीधै जनताको जीवनस्तरमा सुधार ल्याउने कुरालाई प्राथमिकता दिने उनले बताए । यता बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले हालका मुख्यमन्त्री बानियाँले सहमतिको पालना नगरेको आरोप लगाएका छन् । बागमती प्रदेश सरकार गठनप्रति असन्तुष्टी जनाउँदै उनले मुख्यमन्त्री बानियाँले पार्टी सभापति शेरबहादुर देउवासमक्ष गरेको प्रतिबद्धता पूरा नगरेको बताए । पार्टी सभापतिकै आग्रहमा आफूले राजीनामा दिएर मार्गप्रशस्त गरेको स्मरण गर्दै बानियाँलाई दबाब बढाउन केन्द्रीय नेतृत्वलाई भेट्ने लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*