कैलाशमा सामुदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन

साझाकुरा
२०८२ श्रावण २२, बुधबार ११:३३

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिका–१० बेतिनीमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले एक समारोहबीच उद्घाटन गरेका हुन् । अध्यक्ष मुक्तानले स्वास्थ्य र सरसफाईको क्षेत्रमा गाउँपालिकाले साझेदारी संस्थासँगको सहकार्यमा काम गर्दै आएको र आगामी दिनमा पनि सहकार्य रहने प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा १२ भन्दा बढी संस्थासँग साझेदारी कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको अध्यक्ष मुक्तानले बताए ।

आमनागरिकलाई स्वास्थ्य बाट बञ्चित नहोस् भन्ने हेतुले सेवाप्रदान गर्दै आएको क्लिनिकले आगामी दिनमा पनि थप सुविधाका साथ सेवाप्रदान गर्ने विश्वास लिएको उनले बताए । घरमै डेलीभरीको अन्त्यका लागि १० नम्बर वडा र ६ नम्बर वडामा प्रसुती सेवा चालु आवमा सञ्चालनमा ल्याउने तयारी गाउँपालिकाको रहेको उनले बताए । स्वास्थ्य क्षेत्र सेवामा सक्रिय रहेको प्रेम सेवा समाजले सञ्चालनमा ल्याएको स्वास्थ्य क्लिनिक १९ लाख ९७ हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको समाजका अध्यक्ष मीरा स्याङ्तानले बताइन् ।

भवन निर्माणका लागि कैलाश गाउँपालिकाले १० लाख, बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ५ लाख, प्रेम सेवा समाजको ४ लाख ९६ हजार ९२४ रुपैयाँ लागतमा तीन कोठे भवन निर्माण भएको उनले बताइन । समाजका अध्यक्ष स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा १० नम्बर वडाध्यक्ष सूर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य एवम् समाजका कोषाध्यक्ष सुन्तली सुनुवार, ईएलसीएका प्रमुखदाता डा. चन्दन, शान्ति नेपालका अध्यक्ष विद्या मालाकार, सल्लाहकार डा. कृष्णमान शाक्य, कार्यकारीनिर्देशक फूलमान शर्मा, समाजका संस्थापक अध्यक्ष वीरबहादुर सिंतानको आतिथ्यरहेको थियो ।

स्वास्थ्यचौकी नामटारका प्रमुख रन्जेशकुमार पटेल, आधारभूत स्वास्थ्यकेन्द्र भाल्टारका प्रमुख सन्तोष साह, पाष्टर लालबहादुर वाईबा, विभिन्न संघ संस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो । कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने गाउँपालिका अध्यक्ष, शान्ति नेपालका अध्यक्ष, प्रमुखदाता डा. चन्दन, जग्गा दानगर्ने जग्गादाता नेपाल इसाई मण्डली स्मुर्ना मण्डलीलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*