नारायणी यातयात व्यवसायी संघद्वारा मुख्यमन्त्री बानियाँको स्वागत
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले प्रदेशमा भ्रष्टचार हुन नदिने बताएका छन् ।बुधबार नारायणी यातायात व्यवसायी संघले आयोजना गरेको स्वागत एवम् सम्मान कार्यक्रममा मुख्यमन्त्री बानियाँले आपूm मुख्यमन्त्री हुँदासम्म प्रदेशमा भ्रष्टचारको कुरा सुन्न नपर्ने बताए । उनले प्रदेशलाई भ्रष्टचारमुक्त बनाउन आपूm प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
भ्रष्टचार गर्ने मन्त्री, कर्मचारी जो भएपनि कारवाहीको दायरामा ल्याउने मुख्यमन्त्री बानियाँले बताए । यातायात व्यवसायीलाई उत्साह जगाउने गरी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री बानियाँले संघीय सरकारसँग समन्वय गरी जीर्ण अवस्थामारहेका राष्ट्रिय राजमार्गको मर्मतको लागि पहल गर्ने बताए । पथलैया–हेटौंडा–नारायणगढ सम्मको सडक खण्ड विस्तारको कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा निजीक्षेत्र विकासको मूल मेरुदण्ड हुने बताएका छन् । निजीक्षेत्रलाई सरकारप्रति भरोसा हुनेगरी प्रमुखको हिसाबले काम गर्ने उनले उल्लेख गरे । मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा यातायात व्यवसायी धेरै भएको र समस्या पनि धेरै हुने भएकोले समस्या न्युनीकरणलाई प्राथमिकतामा राख्ने पनि जिकिर गरे । उनले सरकारको पनि राजश्व बढ्ने र यातयात व्यवसायीको हितहुने विषयमा सरसल्लाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले तत्कालीन नारायणी अञ्चलमा दर्ता भएका सवारीलाई प्रदेशमा स्थानान्तरको प्रयास जारी रहेको बताएका छन् । मुख्यमन्त्री बानियाँले सवारी करको विलम्ब शुल्क मिनाहा गरेकाले यसको फाइदा लिन यातायात व्यवसायीलाई आग्रह गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष हीरालाल श्रेष्ठले यातायात व्यवसायको क्षेत्रमा रहेका समस्याबारे मुख्यमन्त्री बानियाँलाई अवगत गराए । पञ्जीकरण, नबीकरणका नाममा यातायात क्षेत्रमा भ्रष्टचारको सुरुवात भएको उनले बताए । त्यसैगरी अध्यक्ष श्रेष्ठले हेटौडाको सडक विस्तारको विषयलाई पनि छिटो टुग्याउन मुख्यमन्त्री बानियाँलाई आग्रह गरेका छन् ।
कार्यक्रममा महासचिव सरोज खनालले सवारी साधन नबीकरण, देशभर संचालन गर्ने अनुमतिपत्र (नेस्नल पर्मिट) आदिमा शुल्क तलमाथी भएकै कारण बागमती प्रदेशका सवारीधनीले मधेश प्रदेशबाट नबीकरण र नेस्नल पर्मिट लिने काम गरिरहेकोले बागमतीको राजश्व गुमिरहेको बताए । कार्यक्रममा संघका सल्लाहकार माइकल रामचन्द्र अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, निर्माण ब्यवसायी संघका अध्यक्ष बालगोपाल कँडेल, सल्लाहकार भानुभक्त आचार्य लगायतको आतिथ्यता रहेको थियो ।







