मनहरीस्थित धानखेतमा करेन्ट लागेर युवकको मृत्यु
हेटौंडा- मकवानपुरको मनहरीस्थित धानखेतमा करेन्ट लागेर बुधबार एक युवकको मृत्यु भएको छ ।मनहरी गाउँपालिका–६ जोगितालको धानखेतमा चितवन राप्ती नगरपालिका–१ का ३० वर्षीय लालबहादुर मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो । वन्यजन्तुबाट धानबाली जोगाउनका निम्ति खेतमा विद्युतीय करेन्ट लगाइएको थियो । बिहान धानखेतमा आएका मोक्तानलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरीनिरीक्षक विशाल सापकोटाले बताए । धानखेतमा जडान गरिएको विद्युतीय तारमा बेलुका करेन्ट छोड्ने र बिहान बन्द गर्ने कार्य मोक्तानले नै गर्दै आएका थिए ।
तर, बुधबार उनले करेन्ट बन्द नगरी खेतमा आएकाले करेन्ट लागेर मृत्यु भएको स्थानीय देवलाल थिङले बताए । स्थानीयवासीले खेतमा मानिस लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘प्रहरी र स्थानीय घटनास्थलमा पुगेर हेर्दा करेन्ट लागेर मृत्यु भएको देखियो,’ प्रहरी निरीक्षक सापकोटाले भने । मृतक मोक्तानको घर मनहरी जोगीतालमा पनि छ । तर, उनी अहिले राप्ती नगरपालिका–१ मा बस्दै आएका थिए । खेतीपाती उनको जोगीतालमा नै छ । करेन्ट लागेर मृत्यु भएको धानखेत मोक्तानकै रहको प्रहरीले बताएको छ ।
यस्तै, अर्को बेग्लै घटनामा चितवनको माडी नगरपालिका–२ भैरवपुरमा बुधबार नै धानखेतमा एउटा गैंडा करेन्ट लागेर मरेको फेला परेको थियो । वन्यजन्तुबाट बाली जोगाउने उद्देश्यले खेतमा लगाइएको करेन्ट मानिस र वन्यजन्तु दुवैलाई धराप बन्दै आएको छ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागरिकलाई आफ्नो खेतबारीमा लगाइएका बाली जोगाउने विषयमा नयाँ विकल्प खोजी गर्नु जरुरी छ ।







