महिलामैत्री कानुन निर्माण गर्न अनेमसंघको माग
हेटौंडा- अखिल नेपाल महिला संघ (अनेमसंघ), मकवानपुरले महिलामैत्री कानुन निर्माणको माग गरेको छ ।बुधबार अनेमसंघ मकवानपुरले सरकारले निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी छुट दिनेगरी कानुनको मस्यौदा तयार गरेको र यो कार्य गैरजिम्मेवारपूर्ण तथा आपत्तिजनक रहेको ठहर गर्दै यो प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको हो । पितृसत्तात्मक सोच र संरचनाको अन्त्य गर्न प्रभावकारी कानुन निर्माणको माग गर्दै अनेमसंघले ज्ञापनपत्र सरकारसमक्ष पेस गरेको छ ।
संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् सरकारलाइ ज्ञापनपत्र बुझाउँदै महिलाले पितृसत्तात्मक भूमिकाको अन्त्यका लागि लामो समयदेखि संघर्ष गर्दै आएपनि व्यावहारिकरुपमा अझैसम्म अपेक्षित सुधार नआएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । ‘महिला संघले २०७५ भदौ १ गतेदेखि पूर्णतया निषेध गरिएकोे मुलुकी अपराधसंहिता २०७४ लाइ संशोधन गरी निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको विषयले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गरिएको छ’ ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा हालको सरकारले यसअघि लागू गरेका कानुनलसमेत पितृसत्तात्मक सोचलाई प्रश्रय दिएको र महिलामाथिको हिंसा तथा विभेदलाई कानुनी संरक्षण मिलिरहेको उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउँदै संघकी अध्यक्ष सुमित्रा काफ्लेले महिलामाथिको विभेद अन्त्य गर्न बनेका कानुन व्यवहारमा लागु नभएको र महिलाको अधिकार सुनिश्चित गर्न संशोधित कानुन तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् ।
राजनीतिक सहभागितामा महिलाको उपस्थितिको अभाव, घरेलुहिंसाका घटना, सामाजिक शोषण तथा सार्वजनिक स्थलमा महिला असुरक्षित हुनु जस्ता समस्या कायमै रहेको उनले बताइन् । संघले तत्कालीनरुपमा यो कानुनमाथि आवश्यक संशोधन गरी महिलामैत्री कानुनी व्यवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।







