स्वास्थ्य बीमा बोर्डलाई ७ बुँदे ज्ञापनपत्र

साझाकुरा
२०८२ श्रावण २४, शुक्रबार ११:३९

हेटौंडा- स्वास्थ्य बीमामा सुधारको माग गर्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले ७ बुँदे ज्ञापनपत्र स्वास्थ्य बीमा बोर्ड मकवानपुरमा बुझाएको छ ।संघले स्वास्थ्य बीमा प्रणालीमा देखिएका गम्भीर समस्याप्रति गहिरो चिन्ता व्यक्त गर्दै ७ बुँदे मागसहितको ज्ञापनपत्र नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्ड मकवानपुरमा बुझाएको हो । ज्ञापनपत्र स्वास्थ्य बीमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्का समक्ष ट्रेड युनियन मकवानपुरका जिल्ला अध्यक्ष रामहरि खतिवडा र यातायात मजदुर संघका जिल्ला अध्यक्ष काजीमान तितुङले संयुक्तरुपमा प्रदान गरेका थिए ।

कार्यक्रममा संघका पदाधिकारी प्रचण्ड राजथला, सम्झना मोक्तान, सन्चमाया थिङ, दधिलाल नेपाल, मनोहर नेपाल तथा वरिष्ठ सल्लाहकार रामप्रसाद कोईरालाको उपस्थिति रहेको थियो । संघले प्रस्तुत गरेको ज्ञापनपत्रमा विशेष गरी हेटौंडा अस्पताल र सामुदायिक हेटौंडा आँखा अस्पताल बीच देखिएको समन्वय अभाव, रिफर प्रक्रियाको जटिलता, तथा बीमित सेवाग्राहीहरु आँखाको उपचारबाट वञ्चितभएको गुनासोलाई प्रमुख विषय बनाइएको छ । संघले जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न बीमा प्रणाली सहज, सर्वसुलभ र प्रभावकारी बनाउनु सरकारको दायित्व भएको बताउँदै, समयमै समस्याहरु सम्बोधन नभए पत्रकार सम्मेलनमार्फत् चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*