मदन भण्डारी फाउन्डेसनको एकवर्षे कार्ययोजना स्वीकृत

हेटौंडा- मदन भण्डारी फाउन्डेसन मकवानपुरको आर्थिक वर्ष २०८२÷८३ को कार्ययोजना स्वीकृत भएको छ । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले एकवर्षमा गर्ने विभिन्न कार्यक्रम स्वीकृत गरेको हो । बैठकले आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि असारसम्मको एकवर्षे कार्ययोजना स्वीकृत गरेको फाउन्डेसनका अध्यक्ष खुलालले जानकारी दिएका छन् । उनका अनुसार पहिलो ४ महिना साउन, भदौ, असोज र कार्तिकमा सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण, असोज ५ गते स्थापन दिवस, चार्डपर्वका अवसरमा शुभकामना आदानप्रदान एवम् पुस्तक विमोचन कार्यक्रम तय गरेको छ ।
त्यस्तै कार्तिक महिनामा कला साहित्य एवम् सांस्कृतिक उपसमितिको समन्वयमा शुभदीपावलीका अवसरमा देउसीभैलो कार्यक्रम र मंसिर महिनामा सकारात्मक सोच र जीवन जिउने कलासम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै पुस महिनामा अतिरिक्त क्रियाकलाप उपसमितिको समन्वयमा बनभोज कार्यक्रम, माघ महिनामा सहिद दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय भएको अध्यक्ष खुलालले बताए ।
फागुन महिना विभिन्न संघसंस्थाको सहयोगमा स्वास्थ्य सिविर संचालन गर्ने, चैत महिनामा कविता प्रतियोगिता, वैशाख महिनामा श्रीचन्द्र शार्मा स्मृति सम्मान वितरण, जेठ महिनामा मदन–आश्रित स्मृति दिवसका अवसरमा जेठ १, २ र ३ गते क्रमशः खाद्यान्न वितरण, हाजिरीजवाफ प्रतियोगिता र श्रद्धाञ्जली कार्यक्रम र असार महिनामा मदन भण्डारीको जन्मजयन्ती कार्यक्रम १२, १३ र १४ गते क्रमश रक्तदान, कविता प्रतियोगिता र श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको उनले बताएका छन् ।
अध्यक्ष खुलालका अनुसार यसबाहेक पनि माघदेखि बैशाख महिनामासम्म स्थानीय तह एवम् विभिन्न संघसंस्थासँगको सहकार्यमा अन्य कार्यक्रम सञ्चालन गर्ने साथै यो वर्ष हिरक महोत्सव समेत परेकाले केन्द्रबाट प्राप्त हुने थप कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको र बैठकले आव २०८१÷८२ को खर्च अनुमोदन तथा आव २०८२÷८३ को अनुमानीत बजेट स्वीकृत गरेको अध्यक्ष खुलालले बताए ।
बैठकमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् मदन भण्डारी फाउन्डेसनका हिरक मोत्सव मुलसमारोह समितिका संयोजक डोरमणि पौडेलले फाउन्डेसनले सञ्चालन गर्ने एवम् केन्द्रवाट प्राप्त हुने कार्यक्रमलाई व्यवस्थितरुपमा संचालन गर्न निर्देशन दिए । उनले फाउन्डेसनलाई थप क्रियाशील बनाउन आग्रह गरेका छन् ।