मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्वीप

साझाकुरा
२०८२ श्रावण २७, सोमबार १३:३४

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मतदिन सत्ता साझेदार नेकपा एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।कांग्रेस र एमाले गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त बानियाँले यही साउन २७ गते संसद्बाट विश्वासको मत लिँदै छन् । यस प्रयोजनका लागि आगामी मंगलबार अपराह्न ४ बजेका लागि बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

त्यसदिन संसद्मा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँका पक्षमा मतजाहेर गर्न एमालेले आफ्ना २७ सांसदलाई ह्वीप जारी गरेको हो । ‘बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री बानियाँको अनुरोधमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि आउँदो २७ गते मंगलबार दिनको ४ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

‘बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मत जाहेर गर्नुहुन निर्देशानुसार अनुरोध गर्दछु’, एमाले बागमतीका प्रमुखसचेतक एकालाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मतदिन नेपाली कांग्रेसले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको थियो । शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जनले एक सूचना सम्प्रेषण गर्दै मुख्यमन्त्री बानियाँको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा अनिवार्य उपस्थित हुन निर्देशन गरेका थिए ।

कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । ११० सदस्य रहेको बागमती प्रदेशसभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*