थाहामा श्रीकृष्णष्टमी, खाना महोत्सवको तयारी तीब्र

साझाकुरा
२०८२ श्रावण २८, मंगलवार ११:४८

हेटौंडा- थाहा नगरपालिकाको शिखरकोटमा हरेक वर्ष मनाइने श्रीकृष्णजन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तीब्र गरिएको छ । बिगत २८ वर्षदेखि शिखरकोट बजारमा रहेका श्रीकृष्ण मन्दिर परिसरमा लाग्ने कृष्णजन्माष्टमी मेला र घैंटो फुटाउने प्रतियोगिता ब्यवस्थित बनाउनको लागि बजार ब्यवस्थापन समिति शिखरकोट क्रियाशील भएको हो । जन्माष्टमी मेलालाई भब्य र प्रभावकारी बनाउनको लागि विविध रचनात्मक एवम् मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारीमा आयोजक रहेका छन् । कृष्णजन्माष्टमी मेलाको अवसरमा यसवर्ष साउन ३०, ३१ र भदौ १ गते तीनदिन विविध कार्यक्रमको आयोजना गर्न लागिएको मोला ब्यवस्थापन समिति संयोजक यादवज· रायमाझीले बताए ।

कृष्णजन्माष्टमी मेलाको अवसरमा यो वर्षदेखि सडक खाना महोत्सवको आयोजना गर्न लागिएको मोला ब्यवस्थापन समितिका संयोजक रायमाझीले बताए । साउन ३० गतेदेखि सुरुहुने सडक खाना महोत्सव थाहा नगरमै पहिलोपटक आयोजना गर्न लागिएको उनले बताए । खाना महोत्सवमा स्थानीय परिकारलाई प्रथमिकता दिई प्रवद्र्धन गर्नेलक्ष्य आयोजकको रहेको छ । खाना महोत्सवको लागि कृष्ण मन्दिर ओरालोको थाहा गेट र विकासघरको आँगनमा स्टल ब्यवस्थापन गरिएको स्टल ब्यवस्थापन समिति संयोजक बिश्वनाथ रायमाझीले बताए ।

मेलाकै अवसरमा साउन ३० गतेदेखि भदौ १ गतेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रममा लोकदोहोरी गायिका प्रतिमा अर्याल, गायक धिरज राई, बिश्व नेपाली, रमेशराज भट्टराई, सरोज लामिछाने लगायत स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ । मेलाको दोस्रो दिन स्थानीय नेवार, तामाङ समुदायको परम्परागत झाँकी प्रदर्शन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सोही दिन केही वर्षदेखि नियमित सञ्चालन गरिएको लिटल राधाकृष्ण प्रदशनी हुनेछ ।

लिटल राधाकृष्ण प्रदर्शनीमा सहभागी हुने सबैलाई उपहारका साथै उत्कृष्ठ सहभागीलाई नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलाको तेस्रोदिन घैंटो फुटाउने प्रतियोगिता हुनेछ । घैंटो फुटाउने प्रतियोगिता विगत २८ वर्षदेखि निरन्तर सञ्चालनमा आएको छ । प्रतियोगितामा घैंटो फुटाउन सफल समूहलाई सदा झैं नगद पुरस्कारको ब्यवस्था गरिएको छ । घैंटो फुटाउने प्रतियोगिताको सम्भावित जोखिमलाई कम गर्नको लागि अधिकतम सुरक्षाको ब्यवस्था गर्ने संयोजक सुमन बिष्टले बताए ।

मेला त्रिभुवन राजपथको मुख्य सडकक्षेत्रमा हुने भएकाले सडकमा अवरोध नहुने गरी व्यवस्थापन गरिने मेला ब्यवस्थापन समिति संयोजक रायमाझीले बताए । कार्यक्रमका लागि आवश्यक संरचना सडकलाई कम प्रभाव पर्ने गरि निर्माण गरिनेछ भने यातायात सहज बनाउन वैकल्पिक मार्गको प्रयोगको व्यवस्था मिलाइनेछ । घैंटो फुटाउने दिन हेटौंडा तथा काठमाडौं जाने सवारी साधनलाई करिव ३ घण्टाका लागि थाहानगर उद्योग वाणिज्य संघको भवनदेखि रुप्से किटेनी सडक अन्तरगत ४ नम्बर वडा कार्यालय प्राथमिक स्वास्थ्यकेन्द्र सडक वा किटेनी हुँदै बसपार्क–थानाबजारसम्मको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

मेला अवधिभर करिव ३ सय जना स्वम्सेवक परिचालन हुने र थाहा नगरप्रहरी, इलाका प्रहरी कार्यालय पालुङ, सशस्त्र प्रहरी लगायतले सुरक्षा ब्यवस्थापनमा सहयोग गर्ने आयोजकले जनाएको छ । साथै कृष्ण मन्दिरमा पूजा गर्न आउने भक्तजनको लाइन ब्यवस्थापन लगायतको स्वयम्सेवाको लागि दामन चेली समाजले सहयोग गर्नेछ । कृष्णजन्माष्टमी मेला धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रतीक भएकाले सबै भक्तजन र दर्शकलाई अनुशासितरुपमा सहभागी हुन अनुरोध आयोजकले गरेको छ । मेलामा सहभागी हुँदा भीड व्यवस्थापनमा सहयोग गर्न, यातायात नियम पालन गर्न र वातावरण स्वच्छ राख्न आग्रह गरिएको छ । मेलाकै अवसरमा बजारक्षेत्रमा बालबालिकाको लागि खेलस्थलका साथै बिभिन्न सामग्रीको ३ सय भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*