मनहरीका वडाअध्यक्ष खनाल ५२ वर्षमा स्नात्तक भर्ना
हेटौंडा- मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनाल ५२ वर्षको उमेरमा स्नातक अध्ययनको लागि क्याम्पस भर्ना भएका छन् । आफैँ व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयबाट गतवर्ष १२ कक्षा उत्तीर्ण गरेका खनालले मंगलबार हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातक तहमा भर्ना भएका हुन् । मनहरी गाउँपालिका–१ को दोस्रो कार्यकालका लागि वडाध्यक्ष रहेका खनालले वडाध्यक्ष रहँदा ४८ वर्षको उमेरमा कक्षा ११ मा भर्ना गरेका थिए । ‘विद्यालय उमेरमा एसएलसीसम्म मात्रै पास गरेर पढ्ने रहर हुँदाहुँदै छाडेको थिएँ, पछि ४८ वर्षको उमेरमा ११ कक्षा भर्ना भएर १२ पास भएँ । त्यसपछि १ वर्ष खाली बसेर अहिले ब्याचलर पढ्न भर्ना भएको छु’ वडाध्यक्ष खनालले भने ।
जनप्रतिनिधि भएपछि जनताको काममा व्यस्त भएकाले गतवर्ष स्नातक भर्ना गर्न नभ्याएको बताउने वडाध्यक्ष खनालले अब पढाई र जनतको काम सँगसँगै अघि बढाएर चारवर्षे स्नातक तह पूरा गर्ने दृढता व्यक्त गरे । प्रौढउमेरमा स्नातक भर्ना हुन आएका वडाध्यक्ष खनाललाई क्याम्पसमा स्वागतसहित मंगलबार भर्ना गरिएको निर्मल बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख सुवासचन्द्र कँडेलले जानकारी दिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनी वडाध्यक्षमा विजयी बनेका खनालले २०७९ को निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित बनेका थिए ।
विद्यालयको पढाइ सुधार्ने अभियानका साथै आफ्नो अधुरो पढाई पूरा गरी आत्मविश्वासी बन्न यो उमेरमा पनि उच्चशिक्षालाई निरन्तरता दिइएको वडाध्यक्ष खनालले बताए । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले वडाध्यक्ष खनालले यो उमेरमा पनि पढाईलाई निरन्तरता दिएर गाउँबासीलाई पढाईको महत्वबारे बुझ्ने प्रेरणा प्रदान गरेको बताए । ‘औपचारिक शैक्षिक योग्यताको महत्व कति हुन्छ भन्ने कुरा दर्शाउन वडाध्यक्षज्यू एक उदाहरण बन्नुभएको छ, अध्ययनलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा उहाँबाट सबैले सिक्न जरुरी छ’ अध्यक्ष कालाखेतीले भने ।







