उत्कृष्ट सामुदायिक र कबुलियती वन पुरस्कृत
हेटौंडा- डिभिजन वन कार्यालय राप्ती मनहरीले उत्कृष्ट सामुदायिक वन र कबुलियत वनलाई पुरस्कृतगरेको छ ।डिभिजन वन कार्यालय राप्तीले ‘समयमै कार्ययोजना नबीकरण गरौं, सामुदायिक वनलाई गतिशील बनाऔं’ भन्ने मुलनाराकासाथ सामुदायिक वन दिवस २०८२ उत्कृष्ट सामुदायिक वन र कबुलियत वनलाई पुरस्कृत र सम्मान गर्दै मनाएको हो । डिभिजन वन कार्यालय राप्ती अन्तर्गत २०२ वटा सामुदायिक वन उपभोक्ता समूह र २६१ वटा कबुलियत वन उपभोक्ता समूह रहेकोमा सामुदायिक वनतर्फ वर्ष२०८१÷८२ मा उत्कृष्ट हुँदै डिपाड सामुदायिक वन उपभोक्ता समूह मनहरी–६ प्रथम भएको हो ।
दरवारडाँडा सामुदायिक वन उपभोक्ता समूह भीमफेदी–१ द्वितीय र चनौटा सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–१९ तृतीय भएको थियो । उत्कृष्ट भएका तीन वन उपभोक्ता समूहले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ ।यस्तै कबुलियत वनतर्फ गुप्तेश्वरी कबुलियत वन उपभोक्ता समूह भीमफेदी–४ प्रथम, क्याम्पाडाँडा कबुलियत वन उपभोक्ता समूह हेटौंडा–१९ द्वितीय र हुजुरुम कबुलियत वन उपभोक्ता समूह राक्सिराङ–५ तृतीय भएको थियो ।
उनीहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित सम्मानपत्र प्राप्त गरे । मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, थाहा नगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, भीमफेदीकौ ४ वटा वडाहरु, हेटौंडा उपमहानगरका वडाहरु १, ११ र १९ लगायत क्षेत्र डिभिजन वन कार्यालय राप्ती अन्तर्गत पर्दछ ।
सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा फेकोफन मनहरीका अध्यक्ष रघुनाथ रुम्बाले नियमले नमिल्ने काम नगर्न र समयमै संस्था अध्यावधिक गर्न आग्रह गरे । अहिले पुरस्कृत नहुने सामुदायिक वन तथा कबुलियत वन समूहलाई नयाँ आर्थिक वर्षमा उत्कृष्ट हुनेगरी काम गर्न उनले सुझाव दिए । कार्यक्रममा सब डिभिजन कार्याल मनहरीका प्रमुख डटेन्द्र गोलेले सामुदायिक वन तथा कबुलियत वनको ब्यवस्थापन तथा संस्थागत विकास गर्न अब लक्षित हुनुपर्नेमा जोड दिए ।







