ईन्द्रसरोबरको प्रशासनिक भवन निर्माण अन्तिमचरणमा
हेटौंडा- मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सकिसकेको छ । गाउँपालिकाको केन्द्र रहेको खानीखेतमा ५ तले ३६ कोठे भवन निर्माणाधीन अवस्थामा छ । २०७८ कात्तिकमा सम्झौता गरी निर्माणकार्य सुरु गरिएको थियो । सम्झौताअनुसार ०८२ चैत मसान्तसम्म निर्माणकार्य सकिसक्नु पर्नेछ । उमा–मनकामना–आरवी जेभी निर्माण कम्पनीले निर्माणकार्यको ठेक्का लिएको छ । ‘खानीखेतको डाँडा खारेर भवन वनाउन समय लागेकाले सम्झौता भएकै समयमा काम सम्पन्न गर्न अलि कठिन देखिन्छ,’ पालिका ईन्जिनियरराजेन्द्रसिंह ठगुन्नाले भने, ‘अहिले काम भइरहेको छ ।’ करिब चार रोपनी जग्गामा १० करोड ७४ लाखको लागतमा कार्यालय भवन बनिरहेको हो ।
‘भवन तयार भएपछि पालिकाको कार्यालय र शाखाहरु सबै एउटै छानामुनि हुनेछ’, पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले भने, ‘यो पालिकाको सिंहदरबार नै हो ।’ ५ वटा वडामा विभाजित ईन्द्रसरोवर गाउँपालिकाको कार्यालय अहिले खानीखेतमै छ । ईन्द्रसरोवर गाउँपालिकाको २ नम्वर वडा कार्यालय भवनबाट पालिका बासिन्दालाई सेवा दिँदै आएको छ । स्वास्थ्य, कृषिलगायत शाखा अन्य संघसंस्थाका भवनमा आश्रय लिएर बसेका छन् । मकवानपुर १० वटा पालिकामध्ये ईन्द्रसरोवर, राक्सिराङ, मनहरी र वकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।
भीमफेदी, कैलाश र मकवानपुरगढीले पालिकाको भवन निर्माण गरिसकेका छन् । जिल्लाको सुदुरपूर्वमा पर्ने बागमती गाउँपालिकाले आगामी चालू आवमा पालिकाको कार्यालयका लागि पक्की भवन निर्माण गर्ने पालिकाको अध्यक्ष सर्केस घलानले बताए । बागमती गाउँपालिकाले झुरझुरेमा कच्ची भवन बनाएर पालिका बासिन्दा सेवाप्रदान गरिरहेको छ । हेटौंडा उपमहानगरपालिका र थाहा नगरको आफ्नै पक्की र सुविधायुक्त भवन छ ।







