युवापुस्ता समाज र राष्ट्रको मेरुदण्डः प्रदेशप्रमुख देवकोटा

साझाकुरा
२०८२ श्रावण २९, बुधबार ०८:५४

हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले युवापुस्ता समाज र राष्ट्रको मेरुदण्ड भएको बताएका छन् ।‘युवाशक्ति संभावना र सृजनशीलताको जीवन्त स्रोत भएको उनले बताए । ‘दीगो र समृद्द भविष्य निर्माणका लागि आवश्यक पर्ने तीन आधारस्तम्भ विबेकप्रदत्त ज्ञान, संस्कार र सेवा–भाव हुन्, र यी तीनैको वाहक युवाशक्ति हो’ उनले भने ।

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र युवा प्रभागद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजित ‘दिगो भविष्यका लागि युवा सशक्तीकरण’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् । जब युवामा आत्मचेतना, अनुशासन र सेवाउन्मुख जीवन दृष्टि हुन्छ, तब मात्र समाज र देशले उज्यालो र चिरस्थायी गन्तव्य लिन सक्ने प्रदेशप्रमुख देवकोटाको भनाई छ ।

‘आजको युगमा हामीले विकासको गति मात्र होइन, त्यसको गुणस्तर र स्थायित्वमा पनि ध्यान दिनु आवश्यक छ’ देवकोटाले बताए । दिगो भविष्य भनेको केवल भौतिक समृद्धि नभई यो नैतिक बल, अनुशासन, सामाजिक एकता, सद्भाव र आन्तरिक शान्तिसँग गाँसिएको समृद्धि भएको उनले बताए । प्रदेशप्रमुख देवकोटाले धेरै मानिस क्षमता नभएर होइन नचिनेर पछि परेका बताए । युवाले क्षमता चिन्नुपर्ने र समाजले युवालाई हौसला दिनुपर्ने उनको भनाइ थियोे ।

आध्यात्मिक चेतनाले युवालाई कुशल, सवल, संस्कारी, अनुशासित बनाई सफल र असल बनाउने भएकोले आम युवालाई आध्यात्मिक चेतनाको द्वार खोली सफल जीवनको मार्गमा अघि बढ्न आह्वान उनले गरे । युवावर्ग सशक्तीकरण र दीगो भविष्यको स्वर्णिम द्वार खुल्न आतुर रहेको उनले उल्लेख गरे । ब्रह्माकुमारी शुशीलाको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त उत्प्रेरक बाबुराजा शाहले युवालाई उत्प्रेरणात्मक परामर्श गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*