सचिवलाई मुख्यमन्त्रीको निर्देशन : मुख्य एजेन्डा बनाउनुस्’
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पारदर्शिता र समयमै सेवा वितरणलाई मुख्य एजेन्डा बनाएर काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । प्रदेशका मन्त्रालयका सचिवहरुको बैठकमा मुख्यमन्त्री बानियाँले मन्त्रालय सञ्चालनमा दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई मुख्य एजेन्डा बनाइएर काम गर्नुपर्ने बताए । मन्त्रालय र सरकारी निकायको सार्वजनिक खर्च कटौती गर्न पनि उनले निर्देशन दिएका छन् । उनले मन्त्रालय र निकायमा हुने अनावश्यक खर्च नियन्त्रण गरेर आर्थिक सुशासन कायम गर्नुपर्ने बताए । मुख्यमन्त्री बानियाँले कामको गुणस्तर सुधारका लागि कसैले काम नगरी तलब खाने प्रथा अन्त्य गर्ने र कर्मचारीको कार्यक्षमता वृद्धिमा जोड दिन आग्रह गरे ।
सरकारका महत्वपूर्ण योजना समयमै सम्पन्न गर्ने, कार्यव्यवस्था र जिम्मेवारीमा ढिलाइ नगर्ने, र एकताबद्धरुपमा कार्यसम्पादन गर्न उनले निर्देशन दिए । बैठक तथा संरचना सम्बन्धी प्रस्ताव समयमै तयार गर्ने, सरकारी साधनस्रोतको दुरुपयोग नियन्त्रण गर्ने, चाँडो नतिजा दिने र समयमै न्याय दिलाउने कार्यलाई प्राथमिकतामा राख्न उनको निर्देशन छ । ‘नीति, निर्णय, कार्यान्वयन’ लाई तीन स्तम्भ मानेर नीति स्पष्ट, निर्देशन छिटो र सेवा समयमै उपलब्ध गराउने प्रणालीलाई मजबुत बनाउनु पर्नेमा मुख्यमन्त्री बानियाँको जोड थियो ।







