पाँचजना सचिवको एकैपटक सरुवा
हेटौंडा- बागमती प्रदेशका पाँचजना प्रदेश सचिवको एकैपटक सरुवा भएको छ । संघीय सरकारको मन्त्रिपरिषद् बैठकले एकैपटक ७२ जना सहसचिवहरुको सरुवा गर्दा बागमती प्रदेशका पाँचजना परेका हुन् । सरकारले बागमतीबाट पाँचजना प्रदेश सचिवको सरुवा गर्दा चारजनालाई मात्रै पठाएको छ । बागमतीले विगतदेखि नै प्रदेश सचिवहरुको अभाव झेल्दै आएको छ । बागमती प्रदेशमा हाल कार्यरत् आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीको सरुवा भएको छ । उनी सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सरुवा भएको छ ।
सामाजिक विकास मन्त्रालयका सचिव बिनु बज्राचार्य कुँवरको गृह मन्त्रालयमा सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेशसचिव उदयबहादुर रानामगरको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । खानेपानी ऊर्जा तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य सरुवा भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश पुगेका छन् । यसैगरी, सरकारले अन्य प्रदेश र संघ सरकार मातहतका कार्यालयमा कार्यरत् चार जना सहसचिवलाई बागमती प्रदेश सचिवको रुपमा सरुवा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका सचिव ईन्द्रदेव भट्टको बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहा, मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंबाट पार्वती शर्मा र लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बलराम ढकालको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो ।







