एमसीसी अन्तर्गतका दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता
हेटौंडा-मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसीसी) नेपाल परियोजना अन्तर्गत १५.४५ करोड डलर बराबरको दुईवटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।एमसिए नेपालले प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँदमौली प्रशारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँदमौली–नयाँबुटवल प्रशारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग गरेको हो । अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरु, अमेरीकी दुतावासका अधिकारीहरुको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यसका लागि संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रशारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन लगायत काम गरिनेछ । हस्ताक्षर कार्यक्रममा बोल्दै एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनियतामा सुधार गर्नुका साथै क्षत्रीय विद्युत व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरुसँग मिलेर कामगर्न पाउँदा गौरवान्वित भएको बताए ।
अमेरिकाले अनुदान स्थगित गरेर फुकुवा समेत गरेपछि एमसिएले काम अघि बढाएको हो । अब प्रसारण लाइनतर्फ ११७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौंडाको ठेक्का सम्झौता हुन बाँकी रहेको छ । यसमा नेपालका सहित छ वटा कम्पनीले टेन्डर पेशगरेका छन् । नेपाली समेत रहेको आशिष–बोजलार जेभीले १६ करोड १४ लाख ९४ हजार डलर र सगुन–सलार जेभीले ११ करोड १५ लाख आठ हजार डलरमाकाम गर्ने गरी टेन्डर पेश गरेको समाचारमा बताइएको छ ।
सम्झौतापछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले ३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गतवर्ष नै सम्झौता भएको बताए । उनले बिहीवार १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको जानकारी दिए । ‘३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गतवर्ष नै सम्झौता भएको थियो । ३१५ मध्ये २९७ किमि प्रशारण लाइनको सम्झौता गर्न बाँकी थियो यो सम्झौतापछि १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको छ । अब अर्को लट ११७ किमि प्रशारण लाइनको केही दिनमै सम्झौता गर्ने तयारी छ ।
सम्झौता गरिसकेपछि एउटा डेट तोकिएको हुन्छ, त्यो अवधीभित्र निर्माणपक्षले सम्पन्न गर्नुपर्ने हुन्छ ।’ कार्यकारी निर्देशक विष्टले भने, ‘इफक्टिभ डेट भन्छौं त्यो डेट भनेको ४२ महिना हो । तर, त्यो भन्दा कन्ट्रयाक्टरले त्यो भन्दा अगाडि गर्न सक्छ । सम्झौतासँगै काम सुरु भयो भन्ने बुझौँ । यसको लागत एउटा परियोजनाको ७ करोड ६० लाख छ भने अर्को परियोजनाको ७ करोड ४० लाख डलर रहेको छ । लगभग दुवै परियोजनाको लागत बराबर छ ।’ कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनालाई नेपालमा समयमै सम्पन्न गराउनका लागि एमसीए नेपाल लागिरहेको बताए । उनका अनुसार अहिलेसम्मका काम प्रभावकारी हिसावले नै अघि बढिरहेका छन् ।







