भदौ १ गतेदेखि लम्पी स्किन रोगविरुद्धको खोप अभियान सञ्चालन हुने
हेटौंडा- बागमती प्रदेश सरकारले लम्पी स्किन रोगको प्रकोप नियन्त्रण तथा रोकथामका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही भदौ १ गतेदेखि ७ गतेसम्म प्रदेशका १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–१ मा एक कार्यक्रमकाबीच कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताइएको छ । यस वर्षको अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयका वरिष्ठ पशुविकास अधिकृत डा. रामप्रकाश प्रधानले जानकारी दिएका छन् ।
सबैभन्दा बढी चितवनको पशुसेवा कार्यालयलाई ३० हजार डोज खोप उपलब्ध गराइएको छ । त्यसैगरी, जिल्ला पशुसेवा कार्यालय मकवानपुरका लागि २५ हजार, काभ्रेलाई १४ हजार, नुवाकोट र सिन्धुलीलाई १२÷१२ हजार, धादिङलाई ११ हजार, ललितपुरलाई १० हजार र दोलखाको पशुसेवा कार्यालयलाई ६ हजार डोज खोप उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । खोपको व्यवस्थापन संघीय सरकारले गर्नेछ भने खोप लगाउन लाग्ने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने डाक्टर प्रधानले बताए । बागमती प्रदेशमा असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण ७४ पशुचौपायाको मृत्यु भएको छ । १ हजार ६ सय ३३ पशुमा रोगको संक्रमण देखिएको छ ।
विशेषगरी मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा यो रोगको संक्रमण बढी देखिएको डा. प्रधानले बताए । लम्पी स्किन रोग लागेका पशुमा उच्चज्वरो आउने, शरीरको छालामा ५० मि.मि. सम्मको गोलो गाँठाहरु देखापर्ने, ती गाँठाहरु फुटेर घाउमा परिणत हुने, मुख तथा नाकको भित्री भागमा घाउ देखिने, खुट्टाको जोर्नी सुन्निने, सिँगान बग्ने, ¥याल काड्ने र श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिने पशु चिकित्सकले बताएका छन् ।
यो रोग लागेमा पशुको दुध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशका ७१ हजार ९ सय ७७ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो । बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिकटन दूध उत्पादन हुने गरेको छ ।







