हेटौंडा स्वास्थ्य शिक्षाको हबको रुपमा अगाडि बढ्दै

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएसको ५० सिट स्वीकृति
साझाकुरा
२०८२ श्रावण ३२, शनिबार १२:२१

हेटौंडा- चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यो स्वीकृतिले प्रदेशमा मात्र नभई मुलुकको स्वास्थ्य शिक्षा क्षेत्रमा हेटौंडाको नामलाई फैलाउन मद्दत पुग्ने देखिएको छ ।प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालनमा छन् ।

बीएस्सी नर्सिङ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यसवर्ष २० सिटबाट बढाएर ३० सिट पु¥याइएको छ । मेडिकल ल्याव टेक्नोलोजी (बीएमएलटी) र पब्लिक हेल्थ कार्यक्रम भने २०÷२० सिट कायम रहेका छन् । यस्तै, ब्याचलर अफ फार्मेसी कार्यक्रम ३० सिटकै संरचनामा निरन्तर सञ्चालन हुनेछ । स्नातक तहका यी कार्यक्रमसँगै प्रतिष्ठानले स्नातकोत्तर तहमा पनि नयाँ उपलब्धि हासिल गरेको छ ।

यसै शैक्षिक वर्षदेखि एमडीको सातवटा विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट स्वीकृति प्रदान गरिएको छ । स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहेको छ । चिकित्सा अध्ययनका लागि आफ्नै प्रदेशमा अवसरका साथै देशभरका विद्यार्थीलाई आकर्षित गर्ने सम्भावना पनि बढाएको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताए । पूर्वमुख्यमन्त्री पौडेलले भने, ‘मुख्यमन्त्री हुँदा सुरुवात गरेको यो प्रतिष्ठानले उत्पादनगरेको जनशक्तिले स्वास्थ्यसेवा प्रदानगर्न अब धेरै समय लाग्दैन ।’

स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिएको यस कदमले प्रतिष्ठान प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको स्थानको रुपमा स्थापित हुने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताए । प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचारसेवा, आधुनिक अनुसन्धान प्रवद्र्धन गर्दै आएको उनले जानकारी दिए । प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौंडा अस्पतालमा छिमेकी प्रदेशबाट उपचारका लागि बिरामी आउने गरेको प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले जानकारी दिए । अहिले उपचारका लागि दैनिक १ हजार ५ सय भन्दा बढीले सेवा लिइरहेका छन् ।

प्रतिष्ठानबाट बागमती प्रदेशले मात्र होइन, देशभरका नागरिकले दीर्घकालीन लाभ लिन सक्ने डा.ज्ञवालीको भनाई छ । प्रदेशकै गौरवको आयोजना २०७६ मा प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गरिएको थियो । स्थापनाको एकवर्ष पछि प्रतिष्ठानमा २०७७ साउन १५ मा प्रतिष्ठानको उपकुलपति र भदौ १५ गते अन्य पदाधिकारी नियुक्त गरी कार्य प्रारम्भ गरिएको थियो । हाल प्रतिष्ठानको प्रशासनिक कार्यदेखि शैक्षिक कार्यक्रम भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रम सञ्चालनको लागि हेटौंडा–११ को नलेज भिलेजमा घर भाडामा लिएको छ भने हेटौंडा–६ गौरीटार रंगशालामा रहेको ट्रस्टको भवनलाई मर्मत गरेर प्रयोगमा ल्याएको छ । त्यसैगरी कार्यालय प्रायोजनको लागि हेटौंडा–१० मा रहेको टिसियनको पुरानो भवनलाई प्रयोग गर्दै आएको छ । खोज तथा अनुसन्धानको लागि हेटौंडा–८ स्थित स्थानीय लोकतान्त्रिक पार्कको भवन प्रयोग गरिएको छ । प्रतिष्ठानले नयाँ कार्यक्रम सञ्चालन गर्नको लागि हेटौंडा–४ स्थित ६ तले घर पनि भाडामा लिएको छ ।

प्रतिष्ठानले ति भवनहरु प्रयोग गरेबापत वार्षिक ६१ लाख भन्दा बढी भाडाबापत खर्च हुने गरेको छ । संघीय सरकारले प्रतिष्ठानको लागि विशेष अनुदान मार्फत् ५० करोड लागतमा हेटौंडा–१० भुटनदेवीचौरमा निर्माण गरेको ६ भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश राजधानी पूर्वाधार विकास कार्यालय हेटौंडाले कुमार आरएन सिएस जेभी गोकर्ण–११ काठमाडौंसँग ४९ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेको थियो । बिहिबार मात्रै चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पु¥याउने निर्णय भएको छ । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजको सिट र शुल्क वृद्धि नगर्न चेतावनी दिँदै आएका छन् । उनी लगातार चिकित्सा शिक्षा प्रणालीमा पारदर्शिता र पहुँचको पक्षमा आन्दोलन गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*