अर्धवार्षिक समीक्षा सहित खानेपानी, सरसफाई विषयक कार्यशाला

साझाकुरा
२०८२ श्रावण ३२, शनिबार १२:२५

हेटौंडा- कैलाश गाउँपालिकास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अर्धवार्षिक समीक्षाका साथै दीगो खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीका आधारस्तम्भको विश्लेषण कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) का जिल्ला संयोजक लीलबहादुर कार्कीले कैलाश गाउँपालिकामा भएगरेका क्रियाकलापबारे कार्यपत्र प्रस्तुत गरेका थिए । आरआरएनका कार्यक्रम व्यवस्थापक निराजन पोख्रेलले दीगो खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीका नौ वटा आधारस्तम्भबारे कार्यपत्र प्रस्तुत गरी आवश्यक छलफल गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले भौगोलिक विकटताको चुनौतीका साथ खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमा काम गरिएकोमा धन्यवाद व्यक्त गर्दै समूदायमा आधारित रहेर विभिन्न योजना सञ्चालन गर्दै आइरहेको बताए । गाउँपालिकाले १३ भन्दा बढी संस्थासँगको साझेदारीमा स्वास्थ्य, शिक्षा, खानेपानी, महिला तथा बालबालिकाको क्षेत्रमा गर्ने सम्झौता भएको उनले बताए ।

‘कैलाशका नागरिकलाई चेतना अभिवृृद्धि गर्नु चुनौती छ, त्यसलाई चिर्दै घरघर समूदायमा पुगेर सुरक्षित खानेपानी र शौचालय प्रयोग र निर्माणले उनीहरुमा चेतना भएको छ,’ उनले भने । पालिकाले शौचालय परिचयपत्र जारी भइसकेको अवस्थामा केही वडामा परिचयपत्र वितरण गर्न बाकीँ रहेको अध्यक्ष मुक्तानले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले गाउँपालिकाले लक्ष्यअनुसार एक घर एक धारा सबै स्थानमा नसकिरहेको बताए । खानेपानी र सरसफाईका क्षेत्रमा पालिकाले सहकार्य र समन्वय गरी अघि बढ्ने उनले बताए ।

खानेपानीको प्रमुख सूचक नै सरसफाई हो, त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको जिल्ला संयोजक कार्कीले बताए । उनले कार्यपत्र प्रस्तुत गर्दै कैलाशमा १०७ वटा समूह र दुई हजार तीनसय घरधुरीमा २३ वटा सूचकमा क्रियाकलाप सञ्चालन गरिएको बताए । जसमा भाँडा सुकाउने मचान ७७.१५ प्रतिशत, हातधुने ठाउँ ७५.८४ प्रतिशत, पानी फिल्टर प्रयोग २६.९६ प्रतिशत, शौचालय सफा भएको ७८.८७ प्रतिशत, गोठ व्यवस्थापन ७९.१६ प्रतिशत, खेर जाने पानीको सुरक्षित ७७.४६ प्रतिशत, कुहिने र नकुहिने फोहोर व्यवस्थापन ७६.९३ प्रतिशत, घरआँगन सफा रहेको ८१.२१ प्रतिशत तथ्यांकमा रहेको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ३ का कार्यबाहक अध्यक्ष राममाया प्रजा, ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, ७ का अध्यक्ष उदासकुमार भोलन, ८ का अध्यक्ष आशिष प्रजा, ९ का अध्यक्ष भूवनसिं घलान, १० का अध्यक्ष सूर्यबहादुर ब्लोन, डब्लुएचएचका प्रोजेक्ट कोडिनेटर ऋतु राजभण्डारी, कार्यपालिका सदस्य पातलीमाया गोले र सुन्तली सुनुवार, गाउँपालिका विभिन्न शाखाका प्रमुख तथा आरआरएनका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*