सामाजिक संजालमा भाइरल बन्दै उड्ने कार बोकेको तस्बीर
हेटौंडा- नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भदौ ५ गतेदेखि काठमाडौंमा आयोजना गगर्न लागेको अटो शोमा प्रदर्शन गर्ने उड्ने कार बोकेरै नेपाल भित्र्याएको छ । बाढीका कारण तातोपानी नाकाको सडक अवरुद्ध हुँदा उड्ने कार बोकेर ल्याउनु परेको हो ।उड्ने कारलाई मानिसले काँधमा बोकेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । करिब एक सय मिटर सडकमा मानिसले कार बोकेका हुन् । नेपालमा यातायातको इतिहास धेरै पुरानो छैन । त्रिभुवन राजपथ निर्माण नहुँदासम्म काठमाडौं उपत्यकाका सर्वसाधारणमा गाडीको पहुँच थिएन । काठमाडौंमा नभएको सडक नेपालका अन्य ठाउँमा हुने कुरै भएन । तराई समथर भूभाग भएकाले सडक निर्माण सहज हुँदा मकवानपुरको भीमफेदीसम्म सामान्य सडक बनाएर गाडी ल्याइन्थ्यो ।
नेपालका धेरै भूभाग घुमेर नेपालबारे परिचयात्मक पुस्तक लेखेका डा. टोनी हेगनका अनुसार राणा प्रधानमन्त्री वीरशमशेरको पालामा गेहेन्द्रशमशेरले काठमाडौंमा पहिलोपटक गाडी भित्र्याएका थिए । त्यो गाडी मकवानपुरको भीमफेदीबाट मानिसले बोकेर काठमाडौं लगिएका थियो । सन् १९१२ मा नेपालमा ४० जना नेपालीले गाडी बोकेर ल्याएको डा. हेगनको पुस्तकमा उल्लेख छ । वीरशमशेरका छोरा गेहेन्द्र शमशेरले बेलायतबाट फोर्ड कम्पनीका मोटर झिकाई काठमाडौंमा ल्याएको इतिहास छ । उनले नेपालमा गाडी भित्र्याएर तत्कालीन राजालाई उपहार दिएका थिए । वि.सं. १९९० पछि नेपालमा दमकल ल्याइयो । यो पनि बोकेरै काठमाडौं ल्याइएको हो ।
काठमाडौंलाई तराईसँग जोड्ने त्रिभुवन राजपथ नबन्दासम्म भीमफेदीबाट देउराली–चितलाङ–चन्द्रागिरी भन्ज्याङ हुँदै गाडी काठमाडौं ल्याइएको थियो । सडक यातायातको विस्तार हुन थालेपछि नेपालमा गाडीको संख्या बढ्दै गएको हो । सन् १९५१ मा त्रिभुवन राजपथ तयार भएपछि मात्र काठमाडौं सडक सञ्जालले जोडिएको थियो । त्यतिबेला भारतको रक्सौलबाट बाराको अमलेखगंजसम्म रेल चल्ने गरेको थियो । अमलेखगंजबाट मोटर चढेर हेटौंडा हुँदै भीमफेदीसम्म पुग्न सकिन्थ्यो । तराईका केही ठाउँमा सडक पुगेको थियो । सन् १९५६ मा त्रिभुवन राजपथ बनेपछि काठमाडौंमा यातायात चल्न थालेको हो । त्यसअघि काठमाडौंमा करिब १०० गाडी बोकेरै भित्र्याइएको इतिहास पाइन्छ । काठमाडौं उपत्यकामा गाडी चल्न थालेको करिब ७० वर्षपछि उड्ने कार बोकेको तस्बिरले इतिहासलाई ताजा बनाउने काम गरेको छ ।







