विद्यालय नर्स भएका विद्यालयमा बालबालिकाको प्रोफाइल तयार गरिने

साझाकुरा
२०८२ भाद्र १, आईतवार ११:३६

हेटौंडा-बागमती प्रदेश सरकारले विद्यालय जाने उमेरका बालबालिकाको हेल्थ प्रोफाइल बनाउने भएको छ ।विद्यालय नर्स कार्यक्रम सञ्चालन भएका विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण गरी प्रोफाइल तयार पारिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्यालय नर्सले प्रत्येक बालबालिकाको स्वास्थ्य परीक्षण गरी प्रोफाइल तयार पारेर मन्त्रालयले तोकेको सफ्टवेयरमा अपलोड गर्नुपर्ने बागमती प्रदेशको ‘एक विद्यालय एक नर्स कार्यविधि’ दोस्रो संशोधनमा उल्लेख गरिएको छ । कार्यविधि संशोधनसँगै विद्यालय नर्सकारुपमा कार्यरत नर्सले विद्यालयको वार्षिक क्यालेन्डरअनुसार बिदा पाउने छैनन् । विद्यालय बिदाको समयमा उनीहरुले स्वास्थ्य कार्यालय वा स्थानीय तहमा गएर काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विद्यालय नर्स छनोट प्रक्रियामा पनि संशोधन गरिएको छ । लिखित परीक्षाको अंकभार ५० बाट बढाएर ६० पु¥याइएको छ भने अन्य पक्षको मूल्यांकन अंक ३० बाट घटाएर २० मा झारिएको छ । दफा १८ को उपदफा २ मा संशोधन गर्दै विद्यालय नर्स परीक्षाका लागि प्रश्नपत्र निर्माण मन्त्रालयले नभई छनोट तथा सिफारिस समितिले बनाउने उल्लेख छ । स्वास्थ्य निर्देशनालयका निर्देशकको संयोजकत्वमा ६ सदस्यीय समिति रहने व्यवस्था गरिएको छ । छनोट वा सिफारिस समितिले आवश्यकता अनुसार सदस्यको संयोजकत्वमा उपसमिति बनाई छनोट वा सिफारिसको कार्य गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

यसअघि उत्तरपुस्तिका जाँच सफ्टवेयर मार्फत् गरिँदै आएकोमा अब सफ्टवेयर वा प्रदेश लोकसेवा आयोगले अपनाउने विधिबाट हुने भएको छ । ‘एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि २०७८’ को दफा ९, मूल कार्यविधिको दफा १०, १२, १३, १८, १९, २०, २१, २२, २३, २७, २८, ४० र ४१ मा संशोधन गरिएको छ भने दफा ४४ मा उपदफा थप गरिएको छ । त्यस्तै, मूल कार्यविधिको अनुसूची ३ संशोधन गरिएको छ । ‘एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि, दोस्रो संशोधन, २०८०’ ले ऐनमा उल्लेखित केही प्रावधानहरुमा संशोधन गरेको हो ।

आर्थिक वर्ष २०७५÷७६ मा २० वटा सामुदायिक विद्यालयबाट सुरु भएको यो कार्यक्रम हाल प्रदेशका ८ सय ४८ सामुदायिक विद्यालयमा विस्तार भएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, प्रदेशमा रहेका कुल १५ सय ८८ माध्यमिक विद्यालयमध्ये ५३ प्रतिशतमा यो कार्यक्रम सञ्चालनमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*