‘भाषा ऐन कार्यान्वयनमा स्थानीय निकाय जिम्मेवार हुनुपर्ने’

साझाकुरा
२०८२ भाद्र २, सोमबार ११:४६

हेटौंडा-‘सरकारी कामकाजको भाषा सम्बन्धी ऐन २०८०’ कार्यान्वयन स्थानीय निकाय जिम्मेवार बन्नुपर्ने सरोकारवालाले बताएका छन् ।३१ औं तामाङ प्रशारण दिवसको अवसरमा तामाङ पत्रकार संघ बागमती प्रदेश र मकवानपुर समितिको आयोजनामा आइतबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले ऐनको कार्यान्वयन स्थानीय तहका जनप्रतिनिधि बढी जिम्मेवार हुनुपर्ने धारणा राखेका छन् । नेपाल तामाङ धेदुङका केन्द्रीय सदस्य मेम्बर लो तामाङले मातृभाषाको उपयोगलाई केवल औपचारिकता नभई जीवनशैलीमै लागू गर्नुपर्ने बताए । उनले स्थानीय तहले त्यसका लागि दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

सदस्य तामाङले पछिल्लो समय तामाङ समुदायभित्रै तामाङ भाषा बोल्ने वक्ताको कमि हुँदै गएको बताएका छन् । कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले स्थानीय जनप्रतिनिधिले भाषा ऐन कार्यान्वयन गर्न नसकेको स्वीकार गरेका छन् । विशेषगरीः भौतिक विकास मात्र केन्द्रित हुँदा ऐन कार्यान्वयन पर्याप्त मात्रमा हुन नसकेको उनले बताए । अध्यक्ष मुक्तानले ऐन कार्यान्वयनमा आपूmहरु स्थानीय सरकारसँग समन्वय गर्न तयार रहेको बताए । वरिष्ठ पत्रकार प्रताप विष्टले ऐन कार्यान्वयनमा तामाङ धेदुङ संघले काम गर्न नसकेको बताए ।

भाषा बलियो भए मात्र राष्ट्र बलियो हुने भन्दै उनले ऐन कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । यता संस्कृति तथा पर्यटन मन्त्रालयमा सचिव दीपेन्द्र सुवेदीले ऐन कार्यान्वयनका लागि कार्यहरु भैरहेको दाबी गरे । भाषा सम्बन्धी ऐनको विस्तृतिकरणका लागि नियमावली तयार भएको मन्त्रालयका सचिव सुवेदीले बताएका छन् । उनका अनुसार नेवादयःदबू र नेपाल तामाङ घेदुङको सहकार्यमा सरकारी कार्यालयका कर्मचारीका लागि भाषा प्रशिक्षण प्याकेज बनाइएको छ ।

कार्यक्रमको उद्घाटन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका हुन् । संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा १० हजार १ सय रुपैयाँ राशीको ‘आईते सिंह–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार २०८२’ बाट नुवाकोटको ककनी गाउँपालिका–७ चतुराले निवासी पत्रकार अर्जुन बहादुर ग्लान तामाङ सम्मानित भए । नगद ५ हजार राशीको ‘तामाङ पत्रकारिता पुरस्कार–२०८२’ बाट मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ निवासी पत्रकार भुवन घलान (सोमलाल) सम्मानित भए । वि.सं. २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा हरेकवर्ष यो दिवस मनाइँदै आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*