गढीकी दाहाल सर्वोत्कृष्ट व्यवस्थापक घोषित

साझाकुरा
२०८२ भाद्र २, सोमबार ११:४८

हेटौंडा- सर्वोत्कृष्ट महिला व्यवस्थापकको उपाधि मकवानपुरगढी गाउँपालिका–३ स्थित जागरण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मेनुका दाहालले प्राप्त गर्ने भएकी छिन् । संघले सार्वजनिक गरेको विवरणमा उनले प्रदेशकै सर्वोत्कृष्ट महिला व्यवस्थापकको उपाधि प्राप्त गर्न लागेकी हुन् । बचत तथा ऋण सहकारी संस्थाको छाता संगठनको रुपमा रहेको बागमती प्रदेश बचत तथा ऋण ऋण सहकारी संघको छैटौं स्थापना दिवसको अवसरमा उपाधि प्रदान गरिनेछ । १३ जिल्लाका विभिन्न संस्थाका महिला व्यवस्थापकलाई उछिन्दै मकवानपुरकी दाहालले उपाधि प्राप्त गरेकी हुन् ।

विस २०७२ सालदेखि सहकारीमा आवद्ध रहेकी दाहाल व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छिन् । गतवर्ष जिल्ला बचत तथा ऋण सहकारी संघबाट उत्कृष्ट व्यवस्थापक सम्मान प्राप्त गरेकी दाहाल सहकारी अभियानमा निरन्तर लगनशीलताका साथ सक्रिय रहेकी छिन् । ‘म आउँदा सुरुवातमा ४ करोड कारोबार थियो, हाल साढे २२ करोडको कारोबार गर्दै सदस्यलाई बचत र ऋणको सेवा प्रदान गर्दै आइरहेको छु । सहकारीमा धेरै काम सञ्चालन हुँदै आइरहेको छ । आफूले जिम्मेवारीका साथ कार्य गरेको बताउँदै एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी भइरहेका छौं,’ उनले भनिन् ।

सहकारीमार्फत महिला सदस्यको लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिनुका साथै गरिब तथा विपन्न बाल सदस्यको लागि छात्रवृति वितरण गर्दै आइरहेको उनले बताइन् । मकवानपुरगढी–३ मक्रान्चुलीमै जन्मिएकी दाहाल आफ्नै गाउँमा सहकारीमार्फत सेवाप्रदान गर्दै आइरहेकी छिन् । दर्जनौं बढी विभिन्न तालिम लिएकी दाहालले गरिबी विरुद्ध वित्तीय शिक्षाको टीओटी तालिम लिएकी छिन् । उनले लेखा व्यवस्थापन, धितो मूल्यांकन तालिम, पल्र्स अनुगमन, संस्थागत विकास, नेतृत्व विकास, जनशक्ति व्यवस्थापन, वार्षिक योजना तथा बजेट निर्माण, वस्तु तथा सेवा विकास, उच्चस्तरीय पल्र्स अनुगमन प्रणाली, कर व्यवस्थापन लगायत थुप्रै तालिम लिइसकेकी छिन् ।

आफूले संस्थाको जिम्मेवारी लिएपश्चात संस्थाले नेपालस्तरको प्रोवेशन ब्राण्ड तीनपटक २०७५ देखि ०७७ सम्म प्राप्त गरेको व्यवस्थापक दाहालले बताइन् । जिल्ला बचत संघ मकवानपुरबाट उत्कृष्ट मिश्रित साकोस सम्मान भएको थियो भने नेफ्स्कुनबाट सर्वोत्कृष्ट संस्था सम्मानित भएको उनले बताइन् । उनका अनुसार मकवानपुरगढी गाउँपालिकाबाट दुईपटक सहकारी संस्था सम्मानित भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*