सरोकारवाला भन्छन्ः समयमै सूचना पाईदैन, पाएका सूचना पनि अपूर्ण हुन्छन्

कानुनले बन्देज गरेको सूचना सम्प्रेषण नगरौँ : प्रजिअ श्रेष्ठ
साझाकुरा
२०८२ भाद्र ४, बुधबार ०९:३९

हेटौंडा-राष्ट्रिय सूचना दिवस २०८२ को अवसरमा हेटौंडामा मंगलबार सूचनाको हक, अवसर र चुनौती विषयक अन्तक्र्रिया भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रमका सहभागीले सूचनाको हक कार्यान्वयनमा अझै धेरै चुनौती रहेको गुनासो गर्दै निकायले मागिएका सूचना समयमा नदिने, ढिलाइ गर्ने वा अपूर्ण जानकारी दिने प्रवृत्ति बढेको बताएका थिए ।

नागरिकले सहजरुपमा सूचना पाउन नसक्दा पारदर्शिता र जवाफदेहितामा बाधा पुगेको भन्दै उनीहरुले स्थानीय तहदेखि केन्द्रसम्म सूचनाप्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना सम्प्रेषण जति प्रभावकारी हुनसक्यो, त्यति नै लोकतन्त्र पनि संस्थागत हुने बताइन् । नागरिकलाई समयमा र स्पष्ट सूचना दिनुपर्नेमा उनले जोड दिइन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कानुनले बन्देज गरेको बाहेकका सूचना मागेको बेलामा मात्र नभई अन्य समयमा पनि सम्प्रेषण गर्नुपर्ने बताइन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गलत र भ्रामक सूचना सम्प्रेशण नगर्न आग्रह गरिन् । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले सूचनाको हक र अधिकारसम्बन्धी प्रस्तुती दिएका थिए ।

उनले विश्वमा पहिलो पटक सन् १७६६ मा स्वीडेनबाट सूचनाको हकको सुरुआत भएको र नेपालमा सन् २०५७ सालको संविधानदेखि यसलाई मौलिकहकको रुपमा व्यवस्था गरिएको जानकारी गराए । सहायक प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार नेपालको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति, सुव्यवस्था, अपराध अनुसन्धान, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत संवेदनशील विषय सार्वजनिक गर्न नमिल्ने सूचना श्रेणीमा रहेका छन् । त्यस्तै, सूचनाको हक र गोपनीयताको हकबीच सन्तुलन कायम गर्नु, कार्यालय संस्कृतिमा पारदर्शिता ल्याउनु, नियमित सूचना प्रवाह, खोजमूलक पत्रकारिता र सचेत नागरिकमार्फत सूचना हकलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक विश्वराज खड्का, प्रहरी नायवउपरीक्षक श्यामु अर्याल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सूचनासँग सम्बद्ध निकायका सरकारी कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*