मुख्यमन्त्रीको स्वागतसँगै तीजविशेष कार्यक्रम गर्दै मनहरी गाउँपालिका
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँको स्वागतसँगै तीजविशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । आज बुधबार गाउँपालिकाको लामिटार सभाहलमा सांस्कृतिक कार्यक्रमकासाथ मुख्यमन्त्री बानियाँको स्वागत र तीजविशेष कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको छ । मनहरी गाउँपालिकासमेत समेटिएको मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै गाउँबासीमा उत्साह छाएको भन्दै गाउँपालिका अध्यक्षरञ्जन कालाखेतीले पालिकाले मुख्यमन्त्रीको बधाई तथा स्वागत कार्यक्रम राखिएको जानकारीदिए । मुख्यमन्त्री नियुक्त भएपछि आफू निर्वाचित क्षेत्रमा बानियाँ औपचारिक स्वागत कार्यक्रममा सहभागी हुँदैछन् ।
महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा गाउँपालिकाले हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै आइएकोमा यसवर्ष पनि विविध सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदानप्रदान गर्न लागिएको अध्यक्ष कालाखेतीले जानकारी दिए । कार्यक्रममा गाउँपालिका क्षेत्रका विभिन्न संघसंस्था, सहकारी, टोल विकास समिति, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका महिला समितिका प्रतिनिधिलगायतलाई गाउँपालिकाले तीजविशेष कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । तीजविशेष कार्यक्रममा मनहरीको आस्था कला केन्द्रका कलाकारले विभिन्न तीजगीतमा मौलिक नृत्य प्रस्तुत गर्नुका साथै अन्य सांस्कृतिक कार्यक्रम गरिने जनाइएको छ । कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहने गाउँपालिकाले बताएको छ ।







