चुरियामाई सुरुङमार्ग घुम्न आउनेको संख्या बढ्दै

साझाकुरा
२०८२ भाद्र ८, आईतवार ११:४१

हेटौंडा-दक्षिण एसियाकै पहिलो सुरुङमार्ग मानिएको हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग घुम्न आउनेको संख्या बढ्दै गएको छ । हेटौंडा उपमहानगरका अनुसार आठ महिनामा तीन हजारभन्दा बढीले सुरुङमार्ग अवलोकन गरेका छन् । सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेको सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए । शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन विद्यार्थी तथा सर्वसाधारणको संख्या बाक्लो हुने उनको भनाइ छ ।

लामो समयसम्म जीर्ण रहेको सुरुङमार्ग पुनःनिर्माणपछि पर्यटकका लागि खुला गरिएको हो । कूल चार करोड ५७ लाखमा प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सुरुङको पुनःनिर्माण गरी व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । सुरुङमार्ग विसं २०८१ पुस ८ गते उद्घाटन गरी सर्वसाधारणका लागि खुला गरिएको हो । हेटौंडा उपमहानगरका राजस्व शाखाप्रमुख मनोजकुमार सुवेदीले पर्यटकबाट एक लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरिएको बताए ।

चालु आर्थिक वर्षको साउनमा मात्रै ४५५ जना पर्यटकले सुरुङमार्ग अवलोकन गरेको र त्यसबापत २० हजार ५५० राजस्व संकलन भएको छ । सुरुङमार्ग अवलोकनका लागि नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थीलाई प्रतिव्यक्ति २० रुपैयाँ निर्धारण गरिएको छ । मधेश प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरको सीमानामा रहेको सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो ।

सुरुङमार्गबाट विसं २०२० सम्म सवारिसाधन सञ्चालन हुँदै आएका थिए । सुरुङमार्गको विसं २०७९ वैशाख १९ गते जीर्णोद्धार सुरु भएको थियो । १०६ वर्ष पुरानो सुरुङ पुनःनिर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले माउण्टेन इन्फ्रा कम्पनीसँग ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागत सम्झौता गरेको थियो । सुरुङको पुनःनिर्माण २०७९ वैशाखसम्म सक्ने भनिएता पनि पटक–पटक म्याद थपियो । श्री ३ चन्द्रशम्शेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ थापाले सुरुङमार्ग निर्माण गरेका थिए ।

सुरुङ नेपाली प्रविधि प्रयोग गरेर थापाले निर्माण गराएका थिए । करिब ५ सय मिटर लामो सुरुङ मकवानपुरतर्फ प्रवेश गरेर बारा पुगिन्थ्यो । त्यतिबेला भारतबाट हेटौंडा–भीमफेदी हुँदै काठमाडौं पु¥याउने साना सवारीसाधन ल्याउन सुरुङ बनाइएको थियो ।प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बनेर ठूला–ठूला सवारीसाधन भित्रिएपछि सुरुङ छेवैबाट चुरेपहाड फोडेर सडक बनाइएको थियो । सडक निर्माण भएपछि सुरुङ प्रयोगमा आएन र लामो समयदेखि सुरुङ भग्नावशेष भयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*