सीमखोलाको बेलिब्रिजबाट गुड्न थाले सवारी
हेटौंडा- कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सीमखोलामा निर्माण गरिएको बेलिब्रिजबाट साना सवारी साधन आउजाउ गर्न थालेका छन् ।पुल भएर ६ टनसम्मका सवारीसाधन आउजाउ गर्न दिइएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नबीन सिंहले बताए । उनका अनुसार हेभी सवारी साधनलाई भने रोक लगाइएको छ । ४० दिनमा सबै काम सम्पन्न गरेर सवारीसाधन सञ्चालन गर्न थालिएको हो । भैंसे–भीमफेदी सडकखण्डमा प्रयोगविहीन अवस्थामा रहेका २ वटा बेलिब्रिज झिकेर सीमखोलामा जडान गरिएको हो । यसका लागि ३० जना प्राविधिक र कामदार खटेका थिए ।
पुलको दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राखिएको हो । बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियरियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको थियो । गत असोज ११ र १२ को भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सीमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । बेलिब्रिज सञ्चालन नआउँदासम्म खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको थियो ।







