रचना तेक्वान्दो डोजाङका जुनियर खेलाडीको ग्रेडिङ
हेटौंडा-रचना तेक्वान्दो डोजाङका जुनियर खेलाडीको ग्रेडिङ सफलतापूर्वक सम्पन्न भएको छ । हेटौंडा–६ रामनगरस्थित बालजागृति युवावर्ष माध्यमिक विद्यालयको खेलमैदानमा प्रशिक्षण लिइरहेका जुनियर खेलाडीको शनिबार ग्रेडिङ भएको हो । ग्रेडिङ सेतो पेटीदेखि रातो पेटीसम्मका खेलाडीको लागि आयोजना गरिएको थियो । ग्रेडिङ कार्यक्रममा १२ जना जुनियर खेलाडीले आफ्नो दक्षता र सीप प्रदर्शन गर्दै प्रमोसनका लागि प्रतिस्पर्धा गरेका थिए ।
समाजसेवी कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला तेक्वान्दो संघ मकवानपुरका सदस्य तथा राष्ट्रिय तेक्वान्दो रेफ्री पवन अवस्थीको विशेष उपस्थिति रहेको थियो । ग्रेडिङमा सहभागी खेलाडीको नतिजा छिट्टै घोषणागरिने प्रशिक्षक ईश्वर श्रेष्ठले बताएका छन् । डोजाङले स्थान अभावका कारण विद्यालयको खुल्लामैदानमा तेक्वान्दो सिकाइरहेको छ । तेक्वान्दो खेलको विकासका लागि वडा तहबाट नै सहयोगको खाँचो रहेको प्रमुखअतिथि दुलालले बताए ।







