वीरगञ्जमा ४५ जनामा हैजा पुष्टि, नयाँ बिरामी भर्नादर घट्दै

हेटौंडा-जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना बिरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले जानकारी दिएका छन् । अहिले अस्पतालमा हैजाका नयाँ बिरामी भर्नादर घट्दै गएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला र हैजाका शंकास्पद उपचाररत बिरामीको संख्या बिस्तारै घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झाले बताए ।
वीरगञ्जका अस्पतालमा झाडापखालाका नयाँ बिरामी आउने क्रम घट्दै गएको छ । गएको साउन २४ गते वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ बाट झाडापखालाका बिरामी देखापर्न थालेका हुन् । गएको बिहीवारदेखि वडा १२ नम्बरसँगै ११, १३, १४ र १६ का झाडापखालाका बिरामी अस्पतालमा भर्ना हुनेको चाप बढेको थियो । केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् ।
गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको व्यवस्था मिलाउन निर्देशन दिए । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादवबीच वीरगञ्जमा फैलिएको हैजा सङ्क्रमण नियन्त्रणबारे छलफल भएको छ । पालिकासँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवम् निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिएका छन् ।