मकवानपुरमा ठूलो परिमाणको लागूऔषधसहित दुई भारतीय पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले ठूलो परिमाणमा नेपाल भित्र्याइएका प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार बिहान हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरीचौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरीटोलीले बिहान करिब ९ः२५ बजे भारतको रक्सौलबाट काठमाडौंतर्फ आउँदै गरेको बिआर ०१ पिबि १८०२ नम्बरको भारतीय सुमो गाडी रोकेर जाँच गरेको थियो । जाँचका क्रममा गाडीमा सवार भारत उत्तर प्रदेश राज्य बहराईच जिल्लाका ३५ वर्षीय किस्मत अली र २८ वर्षीय शाहरुख अलीलाई शंका लागी खानतलासी गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरीप्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
गाडीको पछाडिपट्टि दुवै छेउको बडीभित्र विशेष तरिकाले लुकाएर ल्याइएका ३९ वटा पोकामा फेनारगन १९५० एम्पुल, नुर्फिन १९५० एम्पुल, डाईजेपाम १९५० एम्पुल गरी जम्मा ५८५० एम्पुल लागूऔषध र २४० क्याप्सुल ट्रामाडोल फेला पारेको जनाएको छ । लागूऔषध बरामदसँगै सुमो गाडी नियन्त्रणमा लिइएको छ । पक्राउ परेका दुबै व्यक्तिलाई प्रारम्भिक अनुसन्धानपछि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका अधिकारीहरुले जानकारी दिएका छन् ।
हालैका वर्षहरुमा भारत तर्फबाट नेपालमा लागूऔषध ओसारपसार हुने क्रम बढ्दो छ । सीमावर्ती क्षेत्रमा चेकपोइन्ट कडा पारिए पनि विभिन्न नयाँ तरिका अपनाएर भारतबाट लागुऔषध ल्याउने काम भइरहेको प्रहरी तथ्यांकले देखाउँछ । यस्ता घटनाले मुलुकभित्र युवावर्गमा लागुऔषध कुलत बढ्ने खतरा बढाएको प्रहरीको भनाइ छ ।लागूऔषधसहितदुई महिला पक्राउमकवानपुर प्रहरीले लागूऔषधसहित दुई महिलालाई नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौंडा–१० बसपार्कमा बस्ने २९ वर्षीया सम्झना थिङ र सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ घरभई हाल हेटौंडा बस्ने २३ वर्षीया सोनिका क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीचौकी रातोमाटेबाट खटिएको टोलीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ह १०३ नम्बरको अटो रोकी जाँच गर्ने क्रममा उनीहरुको साथबाट खैरोहेरोइन ३ ग्राम १५० मिलिग्राम र मोवाइल चार्जरभित्र लुकाइएको नाम नखुलेको सेतोपदार्थ २२ ग्राम २० मिलिग्राम बरामद भएको प्रवक्ता अर्यालले बताए । ्
फेला परेको लागूऔषध सहित दुवै महिलालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला
प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







