हरितालिका तीजपर्व मनाइँदै

साझाकुरा
२०८२ भाद्र ११, बुधबार १३:००

हेटौंडा-हरितालिका तीजपर्व मंगलबार देशभर हर्षोल्लासका साथ मनाइएको छ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तीज मनाउने परम्परा छ । आजको दिन निराहार व्रतबसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । तीजपर्व ऋषिपञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने बरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रतगरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्रशुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको बताइन्छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले गीतमार्फत् पोख्ने गरेका छन् । हटौंडाको पशुपति मन्दिरसहित मकवानपुरका दशवटै स्थानीय तहमा रहेका शिव मन्दिरमा बिहानैदेखि पूजा गर्ने भक्तजनहरुको भीड लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*