पर्वको गौरव र मर्यादालाई कायम राख्दै मनाउन आग्रह

साझाकुरा
२०८२ भाद्र ११, बुधबार १३:०२

हेटौंडा- बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले विशेषगरी हिन्दु महिलाले मनाउने पर्व हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।सनातन वैदिक संस्कृतिमा नारीशक्तिको सम्मान र प्रकृतिको संरक्षणका लागि विशेष महत्व राख्ने यो पर्वले एकताबद्ध भई अगाडि बढ्न प्रेरणा दिने उल्लेख गर्दै प्रदेशप्रमुख देवकोटाले शुभकामना सन्देश जारी गरेका हुन् । पछिल्लो समय देखापरेका भड्कीलो देखासिकीबाट पर रहेर पर्वको गौरव र मर्यादालाई कायम राख्दै तिजपर्व मनाउन प्रदेशप्रमुख देवकोटाले सबैमा अनुरोध गरेका छन् । मुलुकको समृद्धि, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नका लागि यस्ता चाडपर्वको ठूलो भूमिका हुने बताउँदै पर्वले समाजमा रहेका विकृति र विसंगतिलाई हटाएर समानता र न्यायमा आधारित समाज निर्माण गर्न सबैलाई प्रोत्साहन गरोस् भन्ने कामना गरे ।

‘तिजले पारिवारिक तथा सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउनुका साथै मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न मद्दत पु¥याउँछ’ सन्देशमा भनिएका छ । यसपर्वमा चेलीहरुले जन्मघर गएर आफ्ना दुःखसुख साट्ने, नाचगान गर्ने र मीठो परिकार खाने प्रचलन छ । जसले दिदीबहिनीहरुमा आपसी प्रेम र आत्मीयता बढाउनेमा प्रदेशप्रमुख देवकोटाले विश्वास व्यक्त गरेका छन् । पौराणिक कथाअनुसार, माता पार्वतीले महादेवलाई पतिको रुपमा पाउनका लागि कठोर तपस्या तथा निराहार व्रत बसेर त्याग
गरेको कथासँग तिजपर्वको इतिहास जोडिएको छ ।

हिमालय पर्वतमा घोर तपस्या गरेको र उहाँको यही त्याग र समर्पणबाट खुसी भएर महादेवले उहाँलाई पत्नीका रुपमा स्वीकार गर्नुभएको धार्मिक विश्वास छ । पौराणिक कथाअनुसार माता पार्वतीको यही कठोर तपस्याको सम्मानस्वरुप हरितालिका तिज मनाउने गरिन्छ ।यो पर्वले भगवान शिव र पार्वतीको अटुट प्रेम र समर्पणको गाथालाई स्मरण गराउँदै नारी जीवनमा पतिको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्ने महत्वपूर्ण पर्वकारुपमा स्थापित छ । त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पनि हरितालिका तीज २०८२ को अवसरमा मंगलबार नेपाली महिलालाई शुभकामना व्यक्त गरेका छन् ।

तीज नेपाली महिलाहरुको महान् पर्व भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले यसपर्वले महिलामा सामाजिक, पारिवारिक, धार्मिक तथा सांस्कृतिक एकता र सद्भाव बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले तीजपर्वले समाजमा विद्यमान लै·िक, जातीय, वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गरी सामाजिक समावेशीकरण, समानता र न्यायपूर्ण समाज निर्माणमा टेवा पु¥याउने अवसर प्रदान गर्ने बताए । मुख्यमन्त्री बानियाँले तीजलाई सांस्कृतिक मूल्य तथा मान्यतासहितको पर्वका रुपमा लिँदै यसले नेपाली महिलाको सामाजिक, पारिवारिक र वैवाहिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमार्फत उनले देशविदेशमा रहेका सम्पूर्ण नेपाली महिलालाई स्वास्थ्य, समृद्धि, सुख, शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । त्यसैगरीस्वास्थ्य मन्त्री किरण थापा मगरले हरितालिका तीजको पावन अवसरमा देशविदेशमा रहेका सम्पूर्ण आमा तथा दिदीबहिनीप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । मन्त्री थापाले मंगलबार शुभकामना सन्देश जारी गर्दै तीज केवल पर्व मात्र नभई महिलाको हक, अधिकार, आत्मसम्मान र सामाजिक पहिचानलाई अझ सशक्त बनाउन सक्ने महत्वपूर्ण अवसर भएको बताए ।

‘नेपाली समाजमा तीजले ल्याउने सामाजिक, सांस्कृतिक र पारिवारिक एकताको भावना अत्यन्त महत्वपूर्ण छ,’ मन्त्री थापाले सन्देशमा लेखेका छन् ‘यो पर्व महिला अधिकार, लै·िक समानता र सामाजिक सशक्तीकरणको सन्देशसहित मनाउन आग्रह गर्दछु ।’ उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य, शिक्षा र सशक्तीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी योजना ल्याइने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्यप्रति सचेत रहँदै तीजको उल्लासपूर्ण वातावरणमा सहभागी हुन सबै दिदीबहिनीलाई आह्वान गर्दै मन्त्री थापाले लेखे, ‘हरेक महिलाको स्वास्थ्य सुरक्षित होस्, घरआँगनमा तीजको उल्लास छाओस् ।’

यसमा तपाइको मत

Your email address will not be published.


*