आज ऋषिपञ्चमी, तीजको व्रत समापन गरिंदै

साझाकुरा
२०८२ भाद्र १२, बिहीबार १६:५९

हेटौंडा- प्रत्येक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीनसय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवम् पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चा· निर्णायक समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ ।

सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एकछाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौंको टेकु, मूलपानी, हेटौंडाको राप्ती नदीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ । सप्तऋषिको पूजा गर्ने भएकाले यस दिनलाई ऋषिपञ्चमी पर्व भनिएको शास्त्रमा उल्लेख छ । तीजको अन्तिम दिन पनि भएकोले यसदिन महिलाले अरुन्धत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज ब्रत समापन गर्ने परम्परा रहेको छ ।

पन्चमीमा ब्रतालु महिलाले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा सप्तऋषिको पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने चलन रहिआएको छ । आज नुहाएर पूजाआजा गर्ने, नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाने प्रचलन छ । पुराणमा उल्लेख भएअनुसार ब्रम्हहत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भनेर सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको छ । सप्तऋषिहरु वशिष्ठ तथा पतिब्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भएर यसलोकमा सम्बृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास गर्ने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*