सुमनसिंको झुप्रोमा मुख्यमन्त्रीको नजरः दसैंअघि घर बनाइदिने

साझाकुरा
२०८२ भाद्र १२, बिहीबार १७:१२

हेटौंडा-गत भदौ ३ गते राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजा घरमा श्रीमती सुत्केरी रहेको र खानेकुरा केही पनि नभएको भन्दै गाउँपालिका कार्यालय पुगे । सुत्केरीलाई खुवाउनेकुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि गाउँपालिकाले तत्काल राहतको लागि दाल, चामल, तेल, नुन, कम्बल, त्रिपाललगायत सामग्री हस्तान्तरण ग¥यो । सुमनसिंको परिवारलाई बस्ने बास र खानेकुराकै अभाव रहेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आए । विभिन्न सामाजिक सञ्जालमा उनको झुप्रोको फोटोसहित पोष्ट भए । यो कुरा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई समेत जानकारी भएपछि सुमनसिंले अब नयाँ घर पाउने भएका छन् ।

साउन २० गते मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका सोही क्षेत्रका प्रदेशसभा सदस्य बानियाँले आफ्नो तलबभत्ताको रकमबाट निर्वाचन क्षेत्रका अतिविपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र नेपाली काँग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बालगायतको सिफारिसमा सुमनसिंको घर बनाउन मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्च गरिदिने भएका हुन् । बुधबार सिफारिससहित मुख्यमन्त्री कार्यालय पुगेका गाउँपालिका अध्यक्ष मल्ल, पार्टी सभापति जिम्बालगायतलाई मुख्यमन्त्री बानियाँले दसैँअघि नै घर तयार गर्नेगरी काम सुरु गर्न भनेका छन् ।

२ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण यथाशीघ्र गरिने र दसैँअघि नै हस्तान्तरण गरिने गाउँपालिका अध्यक्ष मल्लले बताए । घर बनाउन खर्च हुने रकम मुख्यमन्त्री बानियाँले बेहोर्नेछन् । मुख्यमन्त्री बानियाँले केहीदिनअघि मनहरी गाउँपालिका–९ कि विपन्न दलित एकलमहिला मिठुमाया सुनारको घर निर्माणका लागि सहयोग गरेका छन् । उनको घर बनाउन बानियाँले पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*