फोहोर संकलनमा खटिने कर्मचारी पहिलोपटक सामाजिक सुरक्षा कोषमा

साझाकुरा
२०८२ भाद्र १३, शुक्रबार ११:०९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फोहोरमैला संकलन र व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई पहिलोपटक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ । हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रालिले यस कार्यमा संलग्न ५३ जना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा सफाईक्षेत्रमा कार्यरत कर्मचारीलाई कोषमा समावेश गरिएको थियो । कार्यक्रममा नगरप्रमुख लामाले फोहोरमैला संकलन गर्ने काम कठिन र जोखिमपूर्ण हुने भएकाले कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नु उपमहानगरको दायित्व भएको बताइन् । उनले स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिदै सुरक्षाका उपाय अपनाएर मात्रै कार्यमा खटिन सफाई कर्मचारीलाई सुझाव दिइन् ।

फोहोरमैला व्यवस्थापन संघका सल्लाहकार प्राध्यापक डा. आशिष खनालले सफाईक्षेत्रमा कार्यरत कर्मचारीलाई शतप्रतिशत सामाजिक सुरक्षा कोषमा आवद्धगरिएको पहिलोपटक भएको बताएका छन् । उनले देशभर करिब ७० भन्दा बढी संस्था यसक्षेत्रमा सक्रिय भएपनि सम्पूर्ण कर्मचारीलाई एकैपटक कोषमा आवद्ध गराइएको यो पहिलो भएको दाबी गरे । उनले फोहोरमैला व्यवस्थापन ऐन संशोधन गरी केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याए ।

ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रालिका अध्यक्ष नवराज खतिवडाले सामाजिक सुरक्षा कोषमा आवद्धताले कर्मचारीको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएर आगामी दिनमा निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भइरहेको जानकारी दिए । हेटौंडाको फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन भैरवडाँडामा २१ कठ्ठा जग्गा भाडामा लिएर कम्पोष्ट प्लान्ट सञ्चालनको तयारी गरिनुका साथै हेटौंडा–१ चौकीटोलमा वेस्ट डेमो सेन्टर निर्माण गर्न ५ कठ्ठा जमिन भाडामा लिइएको जानकारी दिए ।

प्रालिले २०६२ सालदेखि नै उपमहानगरपालिकासँगको साझेदारीमा काम गर्दै आएको छ । २०७२ सालमा हेटौंडालाई नेपालकै पहिलो स्वच्छ सहर घोषणा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । हाल १३ वटा सवारी साधनमार्फत् फोहोर संकलन गर्दै आएको कम्पनीले स्रोतमै वर्गीकरणको अभ्यासलाई निरन्तरता दिइरहेको छ । वडा नं. १० का अध्यक्ष, वन तथा वातावरण संरक्षण समितिका संयोजक फुर्वादोर्जे लामा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, उपमहानगरपालिका वन तथा वातावरण शाखाप्रमुख हिमप्रसाद पौडेल, शाखा इन्जिनियर चन्दा खड्का, नेपालट्रेड युनियन बागमती प्रदेशका उपाध्यक्ष अर्जुन अर्याललगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*