एक महिनाभित्रै लाइसेन्स छापेर वितरण गर्ने प्रदेश सरकारको तयारी
हेटौंडा-बागमती प्रदेश सरकारले एक महिनाभित्रै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रतिघण्टा ७ सय ५० लाइसेन्स छाप्नसक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर मेसिन खरिद भइसकेको छ र एक महिनाभित्रै सेवा सुरु हुनेछ । मन्त्री थापाकाअनुसार खरिद गरिएको प्रत्येक प्रिन्टरको क्षमता प्रतिघण्टा १ सय ५० वटा छ । पाँचवटा मेसिनमार्फत दैनिकरुपमा ठूलो संख्यामा लाइसेन्स छापेर वितरण गर्न सकिने र यसबाट लामो समयदेखि लाइसेन्स पर्खिरहेका सेवाग्राही लाभान्वित हुने विश्वास गरिएको छ ।
यसअघि चालक अनुमति पत्र यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो । तर, केन्द्र सरकारमा लाइसेन्स छाप्ने चाप बढेसँगै सेवाग्राहीले समयमै लाइसेन्स पाउन नसकेपछि केन्द्र सरकारको अनुमतिमा बागमती प्रदेश सरकारले प्रिन्टर खरिद गरी सेवा सुरु गर्न लागेको हो । मन्त्री थापाले करिब पाँच करोड रुपैयाँ लागतमा मेसिन खरिद गरिएको उल्लेख गर्दै, सेवा सुरु हुने जानकारी दिए । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ ।
विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीले पनि लाइसेन्स पाउन सकेका छैनन् । लाइसेन्स छपाइका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा ६ करोड ७५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० साल माघ ७ गते प्रदेशहरुले पनि लाइसेन्स छाप्नसक्ने निर्णयगरेअनुसार बागमती प्रदेशले सेवा सञ्चालन गर्न लागेको हो ।







